प्रचण्ड पत्नि सीताको उपचारका लागि भोली अमेरिका जाने


 


काठमाडौं , २ चैत– नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (भोलि) आइतबार अमेरिका जाँदैछन् ।

पत्नि सीताको उपचारका लागि प्रचण्ड अमेरिका जान लागेको उनको निजी सचिवालयले जनाएको छ । सीता लामो समयदेखि अल्जाइमरबाट पीडित छिन् । उनको नियमित उपचार थाइल्याण्ड र सिंगापुरमा भइरहेको छ । लगातार औषधि सेवन गर्दा पनि स्वास्थ्यमा सुधार नदेखिएपछि प्रचण्डले चिकित्सककै सल्लाहमा सीतालाई अमेरिका लैजान लागेका हुन् ।

सीता गत महिना नै उपचारका लागि अमेरिका जाने योजना थियो । अन्तिम तयारी भइसकेका बेला सीता र प्रचण्डसहित पूरै परिवार भाइरल ज्वरोले ग्रस्त भएपछि भ्रमण रोकिएको थियो । पछिल्लो समय भेनेजुयलामा गरिएको सत्ता परिवर्तनको प्रयासलाई समर्थन गरेकामा प्रचण्डले नेकपा अध्यक्षका हैसियतमा अमेरिकाको कटु आलोचना गर्दै विज्ञप्ति जारी गरेका थिए । यद्यपि पछि नेकपा र सरकारले उनको विज्ञप्तिको स्वामित्व लिएको थियो ।

सोही कारण प्रचण्डलाई पार्टीभित्र र बाहिरबाट समेत भेनेजुयला प्रकरण शान्त नभएसम्म अमेरिका नजान सुझाइएको थियो । तर, प्रचण्डले अमेरिकी राजदूतले घरमै आएर आफूलाई भेटेर भ्रमणको निम्ता दिएको र उक्त प्रकरण सेलाइसकेकाले अब जाँदा फरक नपर्ने भन्दै अन्तिममा जाने निर्णय लिएको दाबी स्रोतको छ ।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्