निर्मला हत्या कनेक्सन ‘तपाईंको जानकारीका लागि दीलिप मेरो साला हो !’


 


खेम बम काठमाडौं
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या भएको ८ महिना बित्यो । अनुसन्धानमा सिंगो राज्य लाग्यो । विभिन्न चरणमा अभियुक्तको आशंकामा धेरैलाई कानुनी दायरामा उभ्याइयो । अपराध स्वीकार गर्न जबर्जस्त पारियो । तत्कालीन कञ्चनपुर प्रहरीको समूहले गरेको अनुसन्धान हुँदै काठमाडौंबाट प्रहरी प्रमुख सर्वेन्द्र खनाल नेतृत्वकै टोलीले विभिन्न व्यक्तिलाई पक्राउ गर्यो र अनुसन्धान जारी राख्यो । केही व्यक्तिलाई अपराधी बनाइयो । जेल हाल्नेसम्मको स्थिति पैदा भयो ।

सिंगो राज्य अत्तालिएर अपराधी को हो ? भन्ने प्रश्नमा भौँतारियो । राज्यलाई निकै दबाब आयो । निर्मलाको अपराधी पत्ता लगाउन नसकेको भन्दै सडक संघर्ष गर्न प्रतिपक्षलाई मलजल पुग्यो । केही समय मानवअधिकार र त्यसका समूहरु निकै दिन ताते । हत्यारा आफैँले थाहा पाएजस्तो आन्दोलनको मोडालिटी परिवर्तन गर्न लागे । सरकारको अनुसन्धानमा बारम्बार असहमति जनाउँदै तगारो हालिरहेका गरिरहेका मानवअधिकारकर्मीले बम दिदीबहिनी बबिता र रोशनीको खेदो खने । त्यहाँबाट केही तथ्य पत्ता नलागेपछि गृहमन्त्रीलगायतको समेत संलग्नता रहेको भन्दै आन्दोलन अरु चर्काइयो ।

महेन्द्रनगर बजार स्थानीय निकाय (नगरपालिका)ले बढाएको करको विषयलाई लिएर साउन १ गतेदेखि अशान्त भइरहेकै बेला साउन १० गते निर्मला हराएको खबर आयो । ११ गते मात्रै शव फेला परेपछि आन्दोलित भिडले आन्दोलनको स्वरुप बदले । प्रहरीले अपराधी पत्ता लगाउने भनी निर्मलाका परिवारलाई दिएको आश्वासनपछि दाहासंस्कार गर्ने सहमति भइसकेको थियो । तर, आन्दोलित समूहले निर्मलाको हत्या प्रकरणलाई निकै ठूलो रुप दिएर विभिन्न मुद्धामा विजयी हासिल गर्ने योजना बुनिरह्यो । तर कहिलेसम्म यो आन्दोलन सार्थक हुन्छ भन्ने कसैले पूर्वनुमान गरेनन् । हाल निर्मलाकी आमा दुर्गादेवी पन्तले नै सत्यथत्य थाहा पाएपछि बयान फेरेकी छन् । प्रहरीमाथि लागेको गलत आरोपप्रति क्षमा माग्नेसम्मको स्थितिमा पुगेकी छन् ।

साउन १ गतेदेखि १० सम्म महेन्द्रनगरको स्थिति (एसपीसँगको कुराकानीमा आधारित)
साउन १ गते स्थानीय निकायले वृद्धि गरेको करका विषयलाई लिएर महेन्द्रनगर निकै आन्दोलित भएको थियो । नगरपालिकाले आफूखुसी कर वृद्धि गरेको भन्दै त्यहाँका स्थानीय र केही पार्टीका कार्यकर्ता आन्दोलनमा उत्रिएका थिए । सरकारी संरचना तोडफोडको स्थिति आएको थियो । भीमदत्त नगरपालिकाले आफू असुरक्षित भइसकेपछि प्रहरीलाई सहयोग माग्यो र कञ्चनपुर प्रहरीले सरकारी सम्पत्ति सुरक्षा गर्न बल प्रयोग गर्नुपरेको थियो । आन्दोलन मत्थर पार्न प्रहरीले अश्रुग्यास र लाठी चार्ज समेत गरेको थियो । आन्दोलनकारीले प्रहरीको दमनको विरोध गरेका थिए । त्यसैक्रममा तत्कालीन एसपी डिल्लीराज बिष्टमाथि आन्दोलन लक्षित भइसकेको थियो । आन्दोलनकारीले नारा लगाउनेक्रममा ‘एसपी चोर, कञ्चनपुर छोड्’ जस्ता शब्द प्रयोग गरेका थिए । त्यसलगत्तै निर्मला पन्त मारिनु र आक्रोशित भिडलाई थप मद्दत पुग्नु संयोग थियो । उत्तेजित भिड दिनप्रतिदिन बढ्दै गएपछि शनि खुनाले ज्यानसमेत गुमाए ।

कञ्चनपुर घटनामा ट्विस्ट आएको छ । निर्मलाकी आमाको बयान फेरिनु र अपराधी आफ्नै वरिपरी घुुमिरहेको भन्नु त्यतिबेलाको प्रहरीले गरेको अनुसन्धानका आधारमा दीलिप बिष्टलाई नै इंगित गरेको छ । दीलिप बिष्टले दिएको बयानका आधारमा समेत उनले सहजै अपराध स्वीकार गरेका छन् । बिष्टका परिवारको भनाइलाई उदृत गर्ने हो भने घरमै उनले त्यस्ता हर्कत देखाउने गरेका थिए । आफ्नै बुहारी नाता पर्नेमाथि बिष्टले गिद्धे नजरले हेर्ने गरेको उनकै आफन्तले बताएका छन् । दीलिप बाहिर आउनु भन्दा जेलभित्रै हुँदा परिवारमा शान्ति हुने उनकै परिवारले बताएका थिए । दीलिपको चरित्र पर्दाफास भइसके पनि अपराध लुकाउन र अन्य निहित स्वार्थका लागि आन्दोलनको डिजाइन गरेको हो कि भन्ने प्रश्न खडा भएको छ ।

तत्कालीन एसपी डिल्लीराज बिष्टको मोबाइलमा पत्रकार खेम भण्डारीले गरेको म्यासेजको समेत चर्चा हुन थालेको छ । भण्डारीले दीलिपसिंह बिष्ट आफ्नो सालो रहेको बताएका छन् । उनले त्यो म्यासेज एसपी बिष्टलाई किन पठाए भन्ने अनुत्तरित छ । निर्मला हत्याकाण्डको अपराधी पत्ता लगाउन र डिएनएको रिपोर्टबारे अग्रिम जानकारीसहित छड्के सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका उनको म्यासेजले समेत घटनालाई लुकाउन खोजिएको थियो कि भन्ने संशय पैदा भएको छ । निर्मलाको मृत्युपछि अपराधी खोज्न भण्डारी निकै सक्रिय भएका थिए ।

निर्मलाकी आमालाई दबाबः
निर्मलाकी आमा दुर्गादेवी पन्तले बयान फेरेसँगै मानवअधिकारवादी संगठनले उनीमाथि दबाब दिने गरेको रहस्य बाहिरिएको छ । प्रहरीविरुद्ध अदालतमा दर्ता गराएको निवेदन फिर्ता लिए राम्रो नहुने भन्दै केही व्यक्तिले धम्क्याउने गरेको उनको आरोप छ । यसअघि मानवअधिकारकर्मी र केही वकिल दुर्गादेवीको घरमा गएर उनीमाथि दबाब दिएको भिडियो सार्वजनिक भएको छ । अब निर्मला हत्या प्रकरणले नयाँ रुप लिएको छ ।

प्रकाशित मिति: ३ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्