मन्त्रिमण्डल पुनर्गठन : सबै मन्त्री बदल्न प्रचण्डको सुझाव, पद जोगाउन मन्त्रीहरुकाे दौडधुप !


 


काठमाडाैं चैत ३
प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रिमण्डल पुनर्गठनको तयारी थाल्नु भएकाे छ । सबै मन्त्रीलाई एकवर्षे कार्यकाल पूरा गर्न दिएर
प्रधानमन्त्री ओली मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुट्नु भएकाे हाे ।

एक वर्षे कार्यकालमा अधिकांश मन्त्रीहरूले आफूले साेचे जस्ताे काम नगरेकाे भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट देखिनु भएकाे छ । मन्त्रीमण्डल हेरफेरको विषयमा प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष दाहालबीच पटक पटक छलफल हुँदै आएको छ ।

हालका मन्त्रीहरूबाट सरकारले लिएको आर्थिक समृद्धि र सुशासनको मार्गचित्रअनुसार काम गर्न नसकेको भन्दै मन्त्रीमण्डल पुनर्गठनको तयारीमा जुट्नु भएकाे हाे । प्रधानमन्त्री ओलीले मन्त्रीहरूको कार्यक्षमता मूल्यांकनका लागि ‘सफ्टवेयर’ नै विकास गरेर त्यसमार्फत सबै काम नियाल्दै मूल्यांकन गरिरहनु भएकाे छ ।

प्रधानमन्त्री ओली केहि मन्त्रीहरूलाई हटाएर केहि नयाँ ल्याउने सुरमा हुनुभएको स्रोत बताउँछ भने, नेकपा अर्का अध्यक्ष प्रचण्डले सबै मन्त्रिहरुले हटाएर नयाँ ल्याउन सुझाव दिनु भएको छ ।

काे-काे देखिए कम्जाेर ?

स्रोतका अनुसार सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, खानेपानी मन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत लगायत कमजोर देखिएको स्रोतको दाबी छ ।

यसैगरी, अर्थमन्त्री डा. युवराज खतिवडालाई पदमुक्त गर्न नेकपाभित्र चर्को दबाब बढेको छ । उद्योगी र व्यापारीहरु रुष्ट भएका कारण अर्थ मन्त्रालयको जिम्मेवारी हेरफेर गर्नु पर्ने दबाब दिइरहेकाे स्राेतकाे भनाइ छ । तर, खतिवडालाई प्रधानमन्त्री निकट हुनुभएकाले उहाँ पदमुक्त हुने सम्भावना न्यून रहेको छ । यस्तै, खानेपानीमन्त्री मगर अध्यक्ष दाहालको बुहारी हुनुभएकाले उहाँलाई पनि हटाउन प्रधानमन्त्री ओलीलाई सकस छ ।

कहिले हुन्छ मन्त्रीमण्डल पुनर्गठन ?

स्रोतका अनुसार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिमण्डल पुनर्गठनबारे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । मन्त्रिपरिषद् पुनर्गठनका साथै पार्टी एकताको काम टुंगो लगाउने विषयमा समेत अध्यक्षद्वयका बीचमा छलफल भएको छ ।

लगानी सम्मेलनसम्म यही मन्त्रिपरिषद्लाई निरन्तता दिने र सम्मेलन सकिएपछि पुनर्गठन गर्ने विषयमा अध्यक्षद्वय सहमत भएकाे स्राेतकाे दाबी छ । लगानी सम्मेलन चैत १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ।

मुलुक स्थिरतातर्फ उन्मुख रहेको जानकारी दिँदै वैदेशिक लगानी आकर्षित गर्न र लगानीका क्षेत्र स्पष्ट पार्ने उद्देश्यले सरकारले लगानी सम्मेलन गर्न लागेको हो। पार्टीको संगठनात्मक एकता, नेताहरूको कार्य विभाजनलगायतको प्रस्ताव तयार पार्ने जिम्मेवारीमा रहेका प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिमण्डल पुनर्गठन र पार्टी संगठनात्मक एकताको काम प्याकेजमै टुंग्याउने गरी छलफल चलेको छ।

प्रधानमन्त्री र प्रचण्डबीच मन्त्री हेरफेरको बारेमा छलफल भएपछि केही मन्त्रीहरुले भने आफू मन्त्रीबाट हट्ने संकेत गरेका छन् ।

शनिबार जनकपुरकाे मुजेलीयास्थित राधाकृष्ण सार्वजनिक पुस्ताकलयका नव निर्वाचित कार्यसमितिका पदाधिकारीलाई शपथग्रहण कार्यक्रममा पुग्नु भएका भौतिक पूर्वाधारमन्त्री महासेठले मन्त्री पदबाट हट्न लागेको संकेत दिनुभएकाे छ ।

यसैगरी, दुई दिनअघि काठमाडौंमा भएको एक कार्यक्रममा उद्योगमन्त्री यादवले समेत मन्त्री नरहने संकेत दिइसक्नु भएकाे छ ।

मन्त्री पद जाेगाउन दौडधुप सुरु

मन्त्री फेरिने छलफलसँगै ओली र प्रचण्ड निवासमा मन्त्रीहरुले पद जोगाउन दौडधुप सुरु भएको छ । यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री को पनि टुंगो लगाउने गरी गृहकार्य भइरहेको छ । केही समयअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनमाक पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकाे थियाे ।

पर्यटनमन्त्रीकाे लागि प्रचण्डले योगेश भट्टराईको नाम प्रस्ताव गर्नुभएको छ । तर प्रचण्डकाे उक्त प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार गर्नुभएकाे स्राेत बताउँछन् । प्रचण्डको भनाइ उदृत गर्दै
स्राेत भन्छ – ‘योगेशजीलाई पर्यटनमन्त्री बनाउँदा राम्रो हुन्छ, यसअघि पनि मन्त्री बनाउने घोषणा भएको थियो, भट्टराईलाई मन्त्री बनाउँदा सरकारलाई राम्रो हुन्छ ।’

तर, जवाफमा प्रधानमन्त्री ओलीले भट्टराईलाई मन्त्री बनाउनुभन्दा पार्टीकै जिम्मेवारी दिँदा राम्रो हुने बताउनु भएकाे स्राेतले बताए ।

प्रकाशित मिति: ३ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्