मेयर हुनु त यस्तो ! सेवाग्राहीलाई चिया नपिई फर्कन दिँदैनन्


 


विर्तामोड । विर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार शिवाकोटी आफुलाई भेट्न कार्यकक्षमा आउने सेवाग्रहीलाई चिया नपिई फर्कन दिँदैनन् । कार्य कक्षमा काम विशेषले होस् या भेट्नकै लागि पुग्ने सबैले अग्र्यानिक रातो चिया पिएर फर्कने गरेका छन् ।

त्यहाँ काम गर्ने कर्मचारी पनि अभ्यासरत छन् । उनीहरु मेयर साहेबको कोठामा जोसुकै भित्रियोस् चियाको कप बोकेर स्वागतमा पुगिहाल्छन् ।

यो चियाको पैसा अफिसको कोषबाट खर्च होला भनेर सोच्नु भएको छ भने , त्यो गलत हुने छ । किनकि, चियाका लागि चाहिने रङ र चिनी प्रमुख आफ्नै तलबबाट खरिद गरेर ल्याउँछन् र यसको सम्पूर्ण खर्च आफुले पाउने भत्ताबाट व्यहोर्छन् ।

उनले नगरपालिकाबाट विभिन्न शीर्षकमा मासिक भत्ता रु २३ हजार पाउँदै आएका छन् । सोहीबाट विर्तामोड–२ मा रहेको गुरुकुल विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको होस्टेल खर्च वापत २५ प्रतिशत र बाँकी रकम चियामा नै खर्च गर्दै आएको बताए ।

‘म जनताको सेवा गर्न गएको हँु’ उनले भने, ‘मलाई भेट्न र काम विशेषले आउनु हुने सबैलाई चियाले स्वागत गर्छु तर त्यस वापतको रकम चाहिँ सरकारलाई तिराउन चाहन्न, मलाई नै छुट्याइदिएको रकमले खर्च गर्छु ।’

उनले जनप्रतिनिधि आउनु भन्दा अगाडि मासिक रु २ लाखसम्म चियामा खर्च भएको बताए । सरकारले नगरपालिकालाई दिएको चिया वापतको खर्चबाट चाहिँ डेढ बर्षको अन्तरालमा ४ वटा कल्भर्ट बनाएको उनले बताए ।

‘जनप्रतिनिधि बनेर कमाउन आएको होइन काम गर्न आएको हुँ, काम गर्छु, प्रमुख शिवाकोटीले भने, ‘आफ्नो तलबबाट आगन्तुक र कर्मचारीलाई चिया खुवाउँछु, कार्यालयमा त्यसकै लागि आएको बजेटबाट कल्र्भट, ड्रेन बनाउछु ।’

नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले प्रमुख शिवाकोटीले चिया वापत नगरपालिकामा मासिक २० देखि २५ हजार खर्च गर्दै आएको बताए । लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित

प्रकाशित मिति: ३ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्