विप्लवलाई प्रतिवन्ध गरेर गल्ति गर्यो, अब रेशम चौधरीलाई जेलमुक्त गरौं


 


काठमाडौं ४ चैत्र – नयाँ शक्ति पार्टी नेपालले टीकापुर घटनालाई जनताले अनुमोदन गरिसकेको बताएको छ ।

यही चैत २ गते सम्पन्न पार्टी सचिवालय बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकारले एकातिर विखण्डनकारी तत्वलाई अतिरञ्जित तवरले गौरवीकरण गर्न खोजेको र अर्कोतिर अखण्डता र सार्वभौमसत्ता पक्षधर, प्रदेश सीमाङ्कनबारे फरक मत राख्ने टीकापुर घटनाका विद्रोहीहरूलाई हदैसम्मको दण्ड गर्ने निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको ठहर गरेका हुन् ।

‘टीकापुर घटनामा शिशु र केही सुरक्षाकर्मीहरूको ज्यान जानु अत्यन्त दुःखद् कुरा हुँदा हुँदै पनि यो मूलतः प्रदेश रचनाको मोडलमा विमति राख्ने उत्पीडित थारू समुदायको राजनीतिक विद्रोह थियो । रेशम चौधरी सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुले त्यो विद्रोह जनअनुमोदित भएको पुष्टि हुन्छ ।

विगत दशकमा देशका अनेक राजनीतिक विद्रोह, हिंसा र क्रान्तिहरू भए । अरू घटनालाई राजनीतिक विद्रोहका रूपमा हेरिनु तर टीकापुर विद्रोहलाई मात्र शुद्ध आपराधिक घटनाका रूपमा व्यवहार गर्नु बिल्कुलै असङ्गत र अन्यायपूर्ण कुरा हो,’ उनले भनेका छन् । डा भट्टराईले सांसद रेशम चौधरीलगायत टीकापुर घटनामा जेल गएका सम्पूर्ण अपराधीलाई रिहा गर्नसमेत माग गरेका छन् ।

उनले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु सरकारको हतारोमा गरिएको अराजनीतिक र अपरिपक्व निर्णय भएको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले राज्यको शक्ति र स्रोतलाई पार्टीगत स्वार्थमा दोहन गरिरहनु र विप्लव नेतृत्वको नेकपाले क्रान्तिबारे रोमाञ्चक जडधारणा र उग्र वामपन्ती ध्वसात्मक चिन्तनबाट ग्रसित हुनु शान्ति, सुशासन, विकास र समृद्धिको चाहनाविपरीत भएको नयाँ शक्तिले बताएको छ ।

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्