आफ्नो नाम आँफै काड्छ भन्छन्, कांग्रेस त्यस्तै’


 


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समति सदस्य योगेश भट्टराईले सेना परिचालन सम्बन्धी विधेयकप्रति प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कुरै नबुझी विरोध गरेको बताउनु भएको छ ।

सरकारले सेना परिचालन सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ । विधेयक उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संसदमा दर्ता गराउनु भएको हो । विधेयकमा ‘सुरक्षा परिषदको सिफारिसमा मन्त्रिपरिषद्को निर्णय राष्ट्रपतिद्वारा सेना परिचालन हुने’ उल्लेख छ । विधेयक दफाको ३ मा मन्त्रिपरिषद् बैठक हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिष्दको निर्णय पश्चात राष्ट्रपतिद्वार सेना परिचालन हुने प्रावधान राखिएको छ ।

तर कांग्रेसले प्रधानमन्त्रीले सेना परिचालन गर्न लागेको भनेर विरोध जनाएको छ । नेकपाका नेता भट्टराईले कांग्रेसले विधेयक नै नपढी विरोध गरेको उल्लेख गर्नुभएको छ ।

‘सेना परिचालनका सन्दर्भमा प्रधानमन्त्रीलाई जोडेर विरोध गरेपछि कुनै गल्ती पो भएको रहेछ कि भनेर मैले विधेयक राम्ररी पढे, विधेयकको दफा ६ को २ मा सुरक्षा परिषदको सिफारिसमा मन्त्रिपरिषद् निर्णय पछि राष्ट्रपतिद्वारा सेना परिचालन हुने उल्लेख छ । सोही दफाको ३ मा परिषदको बैठक हुन नसकेमा अध्यक्ष ( प्रम) को सिफारिसमा मन्त्रिपरिषदको निर्णय पश्चात राष्ट्रपतिद्वारा सेना परिचालन हुने उल्लेख छ’ उहाँले फेसबुकमा लेख्नु भएको छ, ‘ सोही दफाको ३ मा यो निर्णयलाई संसदबाट अनुमोदन गराउनु पर्ने स्पस्ट उल्लेख छ । यो विधेयकले प्रमलाई मात्र एकल अधिकार दिएको छैन् ।’

लामो समय सत्ता संचालन गरेको कांग्रेसको विधेयकप्रतिको विरोध अर्थहीन रहेको नेता भट्टराईको भनाई छ । ‘विधेयकमा स्पस्ट उल्लेख हुँदा हुँदै नेपाली कांग्रेस जस्तो लामो संसदीय अभ्यासबाट खारिएको पार्टीको हतारमा विरोधको आसय बुझ्न् सकिएन ’ उहाँले लेख्नु भएको छ, ‘ विरोधमा कुनै वक्तब्य दिनै पर्ने बाध्यताले नयाँ फाइल खोज्दा आफ्नै पालाको पुरानो फाइल पो पल्टिन पुग्या हो की ? ……ले आफ्नो नाम आँफै काड्छ भन्छन् ?’

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्