मन्त्री र सचिवहरुसँग कामको प्रगति माग्दै मुख्यमन्त्री राई


 


विराटनगर, चैत ४

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका मन्त्री र सचिवहरुसँग कामको प्रगति विवरण माग गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित मन्त्रालयगत चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री तथा सचिवहरुलाई मुख्यमन्त्री राईले मासिक कामको प्रगति माग माग्नु भएको हो ।

बैठकमा मुख्यमन्त्री राईले पाक्षिक रुपमा मन्त्रालयगत मन्त्री र सचिवले प्रगति समीक्षा गर्न निर्देशनसमेत दिनुभयो । ‘प्रत्येक मन्त्रालयहरुले पाक्षिक रुपमा प्रगति समीक्षा गर्नुहोस्’, मुख्यमन्त्री राईले निर्देशन दिँदै भन्नुभयो, ‘प्रत्येक महिना कामको प्रगति विवरण मुख्यमन्त्री कार्यालयमा यसरी नै बसेर छलफल गरौँला ।’

नीति, कार्यक्रम र बजेट शीर्षकमा रहेर काम गर्न पनि मन्त्री र सचिवहरुलाई मुख्यमन्त्री राईले निर्देशन दिनु भएको छ । राईले असारे विकासमा ध्यान नदिन सचिवहरुलाई निर्देशन दिँदै अरुबेला बजेट खर्च नगरेर असारमा खर्च गर्ने बानीको अन्त्य गर्नु पर्नेमा जोड दिनुभउो ।

बलियो इच्छाशक्तिका साथ काम गर्न मुख्यमन्त्री राईले कर्मचारीहरुलाई आग्रह गर्नु भएको छ । कर्मचारी समायोजन लगायतका बहानामा मनस्थिति नबिगार्न पनि उहाँको आग्रह थियो । ‘अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न निर्देशन दिँदै मुख्यमन्त्री राईले भन्नुभयो, ‘उत्पादनमुलक र रोजगारमूलक क्षेत्रमा बजेट खर्च गर्न म अनुरोध गर्दछु ।’ यो आर्थिक वर्षको बाँकी रहेको समय अलिकति पनि खेर नफाल्न मुख्यमन्त्री राईले कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

प्रगति समीक्षामा मन्त्रालयगत सबै सचिवहरुले कामको प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रगति समीक्षामा प्रमुख सचिव केदार न्यौपानेले सबै सचिवहरुलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभयो । चार–चार महिनामा मन्त्रालयगत रुपमा समीक्षा बैठक हुुँदै आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कानुन सचिव भरतमणि रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्