बाबुराम भट्टराईले भने : माननीय रेशम चौधरीलाई अविलम्ब रिहा गर्नुपर्छ


 


काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले टीकापुर हत्याकाण्डको मुख्य योजनाकार मानिएका तथा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई अविलम्ब रिहा गर्न माग गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले टीकापुर घटना राजनीतिक विद्रोह भएको भन्दै जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई अविलम्ब रिहा गर्न माग गरेका हुन् ।

‘टिकापुर घटना राजनीतिक घटना हो । यसलाई आपराधिक घटनाका रुपमा लिनुहुँदैन । यसलाई राजनीतिक रुपले नै सम्बोधन गर्नुपर्छ । माननीय रेशम चौधरी लगायत सबैलाई अविलम्ब रिहा हुनुपर्छ’, डा. भट्टराईले भने । गत फागुन २२ गते रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको थियो ।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बाबुराम भट्टराईले सिके राउतलाई अनावश्यक महत्व दिएको पनि आरोप लगाए । ’सिके राउतलाई सरकारले ‘गौतम बुद्ध र पृथ्वीनारायण शाह पछिको एक मात्र व्यक्तित्व’ जसरी प्रस्तुत गर्यो,’ उनले भने ।

यस्तै उनले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु सरकारको हतारोमा गरिएको अपरिपक्व निर्णय भएको पनि स्पष्ट पारे ।

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्