मृगौला पिडित बालिकाको उपचारका लागि रु दुई लाख सहयोग


 


उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका – ३ की मृगौला पिडित १३ बर्षीया बालिका रेश्मा शेर्माको उपचारका लागि मंगलबार दिउँसो रु दुई लाख हस्तान्तरण गरिएको छ ।

बालिकाको उपचारका लागि हङकङमा रहेका नेपालीहरुले गठन गरेको याउ मा तेइ सहयोगी समाज नामक संस्थाले सो रकम सहयोग गरेको हो । आज उर्लाबारी वडा नं. ३ का वडा सदस्य भिष्म बुढाथोकीले पिडित बालिका शेर्मा र उहाँकी आमा शुकमाया शेर्मालाई रु दुई लाख हस्तान्तरण गर्नु भएको हो ।

सुनसरीको धरान स्थायी घर भई हाल हङकङमा कार्यरत समाजकी कोषाध्यक्ष मनु लिम्बू ,सह–कोषाध्यक्ष तुलसी तुम्वापो सिंगक, सदस्यहरु सञ्जय लिम्बू, बिक्रम मगर, देव लिम्बुु लगायतको सक्रियतामा त्यहाँ रहेका नेपालीहरुबाट रकम संकलन गरिएको थियो । यसअघि पनि सो संस्थाले शेर्माको उपचारका लागि रु दुई लाखसहयोग गरेको वडा सदस्य बुढाथोकीले जानकारी दिनुभयो । स्थानीय सनसाइन अंग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत रेश्माको चार महिनाअघि खुट्टा सुनिन थालेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परीक्षण गराउँदा दुवै मृगौला खराब भएको पुष्टी भएको थियो ।

रेश्माको मृगौला प्रत्यारोपणका लागि भारत लैजानुपर्ने र त्यसका लागि करिब रु ३० लाख खर्च लाग्ने मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका चिकित्सकले बताएको बुबा वीरबहादुर शेर्माले बताउनुभयो । हालसम्म शेर्माको उपचारका लागि रु ६ लाखभन्दा बढी रकम संकलन भइसकेको छ ।

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्