निर्मला हत्या प्रकरणः बर्खास्तीमा परेका पूर्वएसपी विष्ट प्रहरी हिरासतमा


 


काठमाडौं निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेपछि गृह मन्त्रालयको बर्खास्तीमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टलाई कञ्चनपुर प्रहरीले हिरासतमा लिएको छ । अदालतले पक्राउ पुर्जी काटेपछि उनी अदालतमा हाजिर भएका छन ।

उनीविरुद्ध परेको मुद्दाको सुनुवाईका क्रममा बयान नसकिएपछि विष्टलाई प्रहरी हिरासतमा राखिएको हो । विष्टमाथि निर्मला पन्तको हत्या भएको अवस्थामा शव फेलापरेपछि प्रमाण नष्ट गरेको अभियोग छ । उनीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी र दिलिप सिंह विष्टका दाई खडक सिहं विष्टले प्रहरी मार्फत मुद्दा दायर गरेका थिए ।

विष्टले अदालतले पक्राउ पुर्जी जारी गरेको सुनेपछि आफू अदालतमा प्रमाणसहित हाजिर भएको प्रतिक्रिया दिएका छन । यसअघि गत फाुगन ३० गते यही प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको अभियोग लागेका पूर्वप्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान बहादुर सेट्ठीसहित ६ प्रहरीलाई अदालतले धरौटीमा छाडेको थियो ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलाशले बिहीबार उक्त आदेश गरेको थियो । अदालतले डीएसपीबाट अवकास पाएका सेट्ठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कासँग प्रमाण नष्ट गरेकोमा ५ र यातनामा ४ लाख धरौटी रकम माग गरेको थियो ।

यस्तै प्रहरी निरीक्षक जगदीश भट्टसँग ४ लाख, सई हरिसिंह धामिसँग ३ लाख ५० हजार, सई रामसिंह धामिसँग ३ लाख र प्रहरी जवान चाँदनी साउदसँग २ लाख ५० हजार धरौटी माग गरेको थियो ।

तत्कालीन एसपी विष्ट सहित ८ जनाले निर्मलाको बलात्कार–हत्या प्रकरणसँग सम्बन्धित प्रमाण नष्ट गरेको र असम्बन्धित मानिसहरुलाई शारीरिक तथा मानसिक यातना दिएको आरोप छ । यही अभियोगअनुसार उनीहरुविरुद्ध अदालतमा मुद्दा परेको हो ।

सरकारले विष्ट र इन्सपेक्टर भट्टलाई सेवाबाट बर्खास्त गरेको थियो भने अन्य ६ जना निलम्बनमा छन् । २०७५ साउन १० गते निर्मला पन्तको शव उखुबारीमा फेला परेको थियो ।

प्रकाशित मिति: ६ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्