भीआईपीमाथि विप्लव समूहको सुरक्षा थ्रेट ! सार्वजनिक कार्यक्रममा नजान आग्रह


 


काठमाण्डौँ । गृहमन्त्रालयले सार्वजनिक सभा, समारोहमा जाँदा सर्तकता अपनाउन भीआईपी र भीभीआईपीलाई आग्रह गरेको छ । प्रतिबन्ध लागेको विप्लव नेतृत्वको नेकपाबाट सुरक्षा थ्रेट रहेको भन्दै गृहमन्त्रालयले सर्तकता अपनाउन आग्रह गरेको छ ।

गृहमन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सचिवहरुलाई सार्वजनिक कार्यक्रममा जाँदा सतर्कता अपनाउन आग्रह गरेका छ । मन्त्रालयले भीभीआईपी र भीआईपीलाई अहिलेको बिसंम परिस्थितीलाई ध्यानमा राखेर मात्रै कार्यक्रममा जान पत्राचार गरिएको छ । जस्तो सुकै कार्यक्रममा नजान र जानै पर्ने कार्यक्रममा सर्तकता अपनाउन आग्रह गरेको छ ।

विशेष गरी गृहले उपत्यका बाहिरको कार्यक्रममा सकभर आवश्यकता हेरी मात्र सहभागी हुन आग्रह गरेको छ । अहिले राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरुलाई कार्यक्रम निमन्त्रणा दिन आउनेहरुलाई सम्बद्ध पक्षले सुरक्षा थे्रट रहेको जानकारी गराउँदै आएको छ । कार्यक्रममा सहभागी हुन निमन्त्रणा आइरहेका छन् । गृहले उच्च सुरक्षा सतर्कता अपनाउनु भनेको छ’–उपराष्ट्रपतिको सचिवालयका एक अधिकारीले भने ।

सुरक्षाको संयन्त्रको विश्लेषण अनुसार पूर्व माओवादीबाट आएका नेता, मन्त्रीहरुलाई थप सुरक्षा थ्रेट रहेको छ । ‘कहींकतै जानैपरे सुरक्षाको चाँजो मिलाउने सक्ने अवस्था, वरपर मानवबस्ती रहेको वा नरहेको स्थितिजस्ता पक्षलाई ख्याल गर्न भनिएको छ’, उपराष्ट्रपतिको सचिवालयका ती अधिकारीले भने– ‘कहींकतै जानुपरे सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने चुनौती सुरक्षा निकायलाई छ ।

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्