राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा. यादव


 


काठ्माण्डौँ । राष्ट्रिय ट्रमासेन्टरको निर्देशकमा डा. प्रमोद यादव नियुक्त हुनुभएको छ । मन्त्रालयबाट नियुक्ति पत्र लिए लगत्तै उहाँले अस्पतालमा पुगेर आफ्नो जिम्मेवारी सम्हाल्नु भएको छ । निर्देशकको जिम्मेवारी सम्हालेपछि डा।यादवले अस्पताललाई बिरामीमैत्री बनाउने बताउनुभयो ।

उहाँले अस्पताललाई डिजिटलाइज्ड गर्दै बिरामीले सहज रुपमा सेवा पाउने वातावरण बनाउनेतर्फ आफु लाग्ने प्रतिक्रिया दिनुभयो । उहाँले ट्रमाको आकस्मिक कक्षमा उपचारका लागि आइपुगेका बिरामीको पैसा नभए पनि उपचार हुने व्यवस्थाको शुरुवात गर्ने बताउनुभयो ।

आकस्मिक उपचारका लागि आइपुगेका बिरामी पैसा नभएका कारण फर्कनु हुँदैन, उहाँले भन्नुभयो । त्यसका लागि आवश्यक व्यवस्था मिलाउने उहाँको भनाइ छ । उहाँले दुघटनाका घाइतेको उपचारको कुरा आउने वित्तिकै सबैभन्दा पहिला ट्रमासेन्टरमा नै बिरामी आउने वातावरण बनाउनेतर्फ पनि आफू लाग्ने जानकारी दिनुभयो ।

अस्पतालमा आइसियूको संख्या बढाउन पनि आफू लागिपर्ने उहाँले बताउनुभयो । केहीदिन अघि प्रधानमन्त्री र उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवबीच चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तरगर्तको ट्रमासेन्टरको निर्देशक यादवलाई बनाउने सहमति भएअनुसार यादवलाई नियुक्त गरिएको जनाइएको छ ।

यसअघिका निर्देशक डा. प्रमोद उपाध्यायले गत असोज २४ गते व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएपछि निमित्तको जिम्मेवारी डा विनोद शेरचनलाई दिइएको थियो ।

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्