बहिनीलाई रङ नदल्न आग्रह गर्दा दाजुमाथि निर्घात कुटपिट


 


दाङ । दाङमा बहिनीलाई बलजफती रङ नदल्न आग्रह गर्दा दाङमा एक जना दाजुमाथि युवाले निर्घात कुटपिट गरेका छन्। तुलसीपुर उपमहानगरपालिका १८ का जितबहादुर चौधरीमाथि बिहीबार युवाको एक समूहले निर्घात कुटपिट गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत रही बिदामा घर आएका चौधरीको टाउको र खुट्टामा चोट लागेको र तुलसीपुर सिटी हस्पिटल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बाँके रेफर गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ। घाइते चौधरीको दिदी सीता चौधरीले बहिनी शोभामाथि १०/१२ जनाको संख्यामा आएका युवाले बलजफती लखेटीलखेटी रङ दल्न थालेपछि त्यसो नगर्न आग्रह गर्दा भाइमाथि उनीहरूले कुटपिट गरेको बताइन्।

युवाको समूहले कुटपिट गरी चौधरीलाई नजिकै रहेको खोलाको पुलबाट फालिदिएको दिदी सीताको भनाइ छ। यसैबीच, कुटपिटमा संलग्न एक जना स्थानीय युवालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले १८ वर्षीय केशर बस्नेतलाई पक्राउ गरिएको र माधव वली लगायतका युवा फरार रहेको बताए।

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्