राप्रपा संयुक्तमा फेरि बिद्रोह ? कार्यसम्पादन समितिमा भान्से र ड्राइभर !


 


काठमाडौं । पुशपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीले पार्टी एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बनाए । राणा–लोहनी मिल्नासाथ दीपक बोहराले सात थान भन्दा बढी केन्द्रीय सदस्य लिएर कमल थापाको राप्रपामा मिसिन पुगिसकेका छन् ।

बोहराको बहिर्गमनपछि पनि उक्त पार्टीभित्रको विवाद मिल्न सकेको छैन । विगत चुनावमा एक सिट पनि जित्न नसकेको राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समिति गठनमा जनाधार नभएकाहरूलाई टपक्क टिपेर ल्याइएपछि असन्तुष्टी पैदा भएको हो ।

पार्टी एकतापछि ७० सदस्यीय उच्चस्तरीय कार्यसम्पादन समिति बनाइएको छ । जसमा धु्रवबहादुर प्रधान र विक्रम पाण्डेहरूको सिफारिसमा अधिकांश योगदान नै नभएकाहरू परेकाले तत्काल सच्याउन माग गरिएको छ । राप्रपा संयुक्तका ४० केन्द्रीय सदस्यहरूले कार्यसम्पादन समितिको नाम नसच्याए विद्रोह गर्ने तयारी गरेका छन् ।

राप्रपा संयुक्तका अध्यक्ष राणा र सहअध्यक्ष लोहनीलाई उनीहरूले २०७५ चैत १० सम्मको अल्टिमेटम दिएका छन् । कार्यसम्पादन समितिमा डा.लोहनी, विक्रम पाण्डे र धु्रवबहादुर प्रधानका ड्राइभर भान्से पनि राखिएको विद्रोहीहरूको आरोप छ । विद्रोहीहरूले उच्चस्तरीय कार्यसम्पादन समितिकै वरिष्ठ सदस्य जयकुमार खड्काको अध्यक्षतामा चैत १० मा काठमाडौंमा भेला गरी राप्रपा संयुक्तबाट बिद्रोह नै गर्ने मनस्थिति बनाइसकेका छन् ।

भेलाको खर्चपर्चको ब्यवस्था पनि खड्काले नै जोहो गर्ने आश्वासन दिएका छन् । भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर भएका विक्रम पाण्डेदेखि ध्रुवबहादुर प्रधान भए पशुपतिशमशेरलाई पुग्ने रहेछ भन्दै उनीहरूले कार्यसम्पादन समितिका नामले आफूहरू नै लज्जित हुनुपरेकाले भेला राखिएको दाबी गरेका छन् । हैसियत नै नभएकाहरूलाई राखेपछि जयकुमार खड्काले असहमति जनाउँदै सही समेत गर्न अस्वीकार गर्दैआएका छन् ।

राप्रपा संयुक्तका असन्तुष्ट केन्द्रीय सदस्यहरूलाई राप्रपा अध्यक्ष कमल थापाले फकएर घर फर्काउने अभियान थालेका छन् । एक÷एक गरी जनाधार भएकाहरू राप्रपामा जान थालेपछि राणाले कार्यसम्पादन समितिको नाम सच्याउने आश्वासन दिएका छन् ।

पश्चिम नेपालको तौलिहवा हुँदै दाङको भ्रमणमा रहेका राणाले २०७५ चैत ७ गते काठमाडौं फर्किएर कार्यसम्पादन समितिको नाम सच्याउने आश्वासन दिएको बिद्रोह गर्नेहरूको समूहका एक केन्द्रीय सदस्यले बताएका छन् । (साँघु साप्ताहिक, चैत ४)

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्