चितवनमा बर्डफ्लु छैन : विज्ञ केन्द्र


 


चितवन । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको जनाएको छ । देशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपछि कार्यालयले जिल्लामा बर्डफ्लु नदेखिएकाले ढुक्कसँग प्रयोग गर्न आग्रह गरेको छ ।

केन्द्रका प्रमुख डा विजयकुमार श्रेष्ठले मकवानपुर, काठमाडौँ र पोखरामा बर्डफ्लु देखिए पनि यहाँ भने समस्या नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “छिमेकी जिल्लामा बर्डफ्लु छ, देशकै सबैभन्दा बढी उत्पादन हुने चितवन सुरक्षित छ ।” कृषकले जैविक सुरक्षामा सजगता अपनाएका कारण जिल्लामा बर्डफ्लु भित्रन नपाएको उहाँले बताउनुभयो । जोखिम नहोस् भन्नका लागि जिल्लाका अधिकांश कृषक सजग रहेकाले जैविक सुरक्षाका कारण जिल्ला सुरक्षित बन्न सकेको बताउनुभयो ।

केन्द्रले नियमितरुपमा नमूना सङ्कलन गर्ने, जिल्लास्थित प्रयोगशालामा परिक्षण गर्ने र शङ्कास्पद देखिएमा केन्द्रीय प्रयोगशालामा पठाउने काम गरिरहेको छ । कृषकले कुखुरा मरेमा परीक्षणका लागि प्रयोगशालामा ल्याउने गरिरहेका छन् । केन्द्रले हाटबजार र शङ्कास्पद खोरको नमूना लिने काम गरिरहेको छ । ठूलो सङ्ख्यामा कुनै पनि खोरमा कुखुरा नमरेको श्रेष्ठले बताउनुभयो । एच नाइनका कारण केही कुखुरा मरेका भए पनि सङ्ख्यात्मक रुपमा कुखुरा नमरेको उहाँले बताउनुभयो । देशकै आधाभन्दा बढी कुखुराजन्य उत्पादन चितवनमा हुन्छ । रासस

प्रकाशित मिति: ९ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्