नागरिकता विद्येयक पास भए नेपाल सिक्किम वा फिजी बन्छ : मैनाली


 


काठमाडौं। नागरिकता विधेयक बिरुद्धको संघर्ष समन्वय समितिले संसदमा पेश गरिएको नागरिकता विद्येयक राष्ट्रघाती भएको भन्दै तत्काल खारेज गर्न माग गरेको छ। समितिले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जबरजस्ती विद्येयक पारित गराए राष्ट्रको हितबिपरित हुने भन्दै उक्त विद्येयक तत्काल फिर्ता लिन माग गरेको हो।

समितिले विदेशीहरुले लिएको नागरिकता छानवीन गरी सम्पूर्ण नक्कली नागरिकताहरु खारेज गर्न, सर्वोच्च अदालतले खारेज गरेको नक्कली नागरिकता बारेको आदेश कार्यान्वयन गराउन र नागरिकता सम्बन्धी एक राष्ट्रिय नीति तर्जुमा गर्न अधिकार सम्पन्न उच्चस्तरीय न्यायीक छानविन आयोग गठनका लागि दबाव पहिलो चरणको कार्यक्रमसमेत घोषणा गरेको छ।

समितिले जारी गरेको विज्ञप्तीअनुसार यही चैत्र १० गतेदेखि व्यापक रुपमा देशव्यापि रुपमा हस्ताक्षर संकलन तथा पर्चा वितरण कार्यक्रम संचालन गर्ने, चैत्र १३ गते सांसदहरुलाई ध्यानाकर्षण पत्र बुझाउने र सोबारे हनुमानथानमा सार्वजनिक कार्यक्रम गर्ने, चैत्र १४ गते भक्तपुर जिल्लाको सूर्यविनायकमा नागरिकता सम्बन्धी विज्ञ विशेषज्ञसहितको विधेयकविरुद्ध सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने, चैत्र १७ गते ललितपुर जिल्लाको लगनखेलमा नागरिकतासम्बन्धी विज्ञ विशेषज्ञसहितको विधेयकविरुद्ध सार्वजनिक सुनुवाई कार्यक्रम गर्नेछ।

चैत्र १९ गते शान्तिवाटिका काठमाडौंमा नागरिकता सम्बन्धी विज्ञ विशेषज्ञसहितको विधेयक विरुद्ध सार्वजनिक सुनुवाई कार्यक्र गर्ने, चैत्र २४ गते देशव्यापि रुपमा नागरिकता विधेयक विरुद्ध भण्डाफोर तथा विरोध कार्यक्रम गर्ने, चैत्र २८ गते बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्रसहित संकलित हस्ताक्षर बुझाउनेलगायतका दबाबमूलक कार्यक्रमहरु रहेका छन्।

बाह्य शक्तिको दबावमा परेर वर्तमान सरकार राष्ट्र र राष्ट्रियतालाई खतरामा पार्न उद्धत रहेको समितिले गम्भिर आरोप लगाएको छ । अन्तरिम संविधान जारी हुनुपूर्व नै संवैधानिक र कानूनी मुल्य–मान्यताको उल्लंघन गरी ल्याइएको नागरिकता ऐन, २०६३ नै विवादस्पद र राष्ट्रिय हितविपरित रहेकोपनि समितिको ठहर छ।

सरकारले राष्ट्रघाती प्रावधान राखी नागरिकता ऐन संशोधन गर्न संसदमा षड्यन्त्रपूर्ण ढङ्गले पेश गरि विदेशी नागरिकलाई नेपालको नागरिकता बितरण गर्न लागेकोले तत्काल उक्त विद्येयक नै खारेजीको माग गरेको छ । कार्यक्रममा बोल्दै नेकपा (माले) का महासचिव एवम् पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले सरकारले विधेयक पास गराए नेपालको अस्तित्व नै खतरामा पर्ने बताए। उनले भने, ‘बाह्य शक्तिलाई खुसी तुल्याउनका लागि सरकारले विधेयक जसरी पनि पास गराउने षडयन्त्र गरेको छ, यो हामीलाई कुनै पनि हालतमा मान्य हुने छैन।’

संसदमा विचाराधीन उक्त विधेयकले विदेशीहरुले लिएको नक्कली नागरिकता र भारतीय संस्थापन पक्षले दावी गरेको नक्कली नागरिकतालाई पनि संस्थागत गर्ने उनको भनाइ छ। उनले थपे, ‘अहिलेको नागरिकता विद्येयकको प्रावधानमा त उनीहरुका सन्तानले पनि नागरिकता पाउन सक्ने गर्न खोजिएको छ। यसलाई सच्याउनुपर्छ।’

विधेयकले मुलुकको सार्वभौमसत्ता र स्वतन्त्रतामाथि अपुरणीय क्षती पु¥याउने निश्चित रहेको बताउदै उनले बिरोधको बावजुद पनि विधेयकले कानूनी रुप लिएको खण्डमा नेपालले स्वतः सिक्किम र फिजीको नियति भोग्न धेरै समय नलाग्ने बताए।
नेकपाका नेता तथा राष्ट्रिय जागरण परिषद्का संयोजक साध्यबहादुर भण्डारीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि आफ्ना मागहरुप्रति सरकारले षड्यन्त्र गर्न खोजेको आरोप लगाए।

नागरिकता विधेयक राष्ट्रघाती रहेको बताउँदै उनले उक्त विधेयकलाई तुरुन्त खारेज गर्नुपर्ने माग राखे । उनले भने, ‘अहिले बजारमा पाँच प्रकारका नागरिकता छन्, यसलाई रोक्न उच्चस्तरीय न्यायिक जाँचबुझ समितिको गठन गराउनपनि सरकारको ध्यानाकर्षण गराएका छौं ।’
उनले विदेशी नागरिकले लिएका सम्पुर्ण नागरिकताहरु खारेज गर्नुपर्ने भन्दै विदेशीलाई नेपाली नागरिकता दिने कानुन सरकाले बनाए अनागरिकहरु यो देशको मालिक बन्ने पक्का भएको पनि ठोकुवा गरे ।

भविष्यमा यो देशका वास्तविक नागरिकहरु बिलिन गराउने कोशिस भएको भन्दै उनले अंगीकृत नागरिकताको रुपमा विदेशीहरुलाई देशको राष्ट्रप्रमुख बनाउनेसम्मको अधिकार दिन खोजिएको भन्दै कडा आपत्ति जनाए। आफ्नो देशको राष्ट्रियता मेटिन नदिने भन्दै उनले विधेयक खारेज गरिएमात्र देश खतराबाट बाँच्न सक्ने उनको भनाई छ ।

त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले देशको भौगोलिक अवस्थाले पनि उक्त विधेयक खारेज हुनुपर्ने बताए। नागरिकताको बिषयमा सरकार कडा बन्नुपर्ने बताउदै उनले अहिले बाह्य शक्ति सरकारलाई नै प्रभावमा पारेर विधेयक पास गराउने दाउमा रहेकोे आरोप लगाए।

सरकारले आफूहरुको मागप्रति चासो नदेखाएको भन्दै उक्त विधेयक पास भए देश अर्काको हातमा गएको बुझ्दा हुने पनि उनको भनाई थियो । नागरिकता विधेयक पास गराउन मधेशवादी दलहरु लागिपरेको भन्दै उनले देशको राष्ट्रियता नै खतरामा रहेकोले आम नागरिकले बिरोध गर्ने समय अहिले नै रहेको प्रष्ट पारे।

चीन, बर्मा, भारत, म्यानमार र भुटानबाट लखेटिएकाहरुको अवस्था अहिले के भइरहेको छ भन्दै उनले प्रश्न गरे। उनले विधेयक पास गरिए आफुहरुको अवस्थापनि उनीहरुकोजस्तै हुने र यो देशका वास्तविक नागरिकहरु लखेटिनुपर्ने अवस्था आउने खतरा औंल्याए।
नेकपा ९माले० का नेता डम्बर श्रेष्ठले सरकारको जबरजस्ती विधेयक पास गराउने कोशिसप्रति आफूहरुको गम्भिर आपत्ति रहेको बताए। उनले भने, ‘यो कुनै पार्टी भन्दा पनि राष्ट्रको हितको विषय भएकाले भोलि राष्ट्र नै खतरामा पर्न जानेबारे हामी सबै सचेत हुनुपर्छ।’
सीमाबिद् बुद्धिनारायण श्रेष्ठले विधेयक त्रुटिपूर्ण रहेकाले यसले राष्ट्रको अखण्डता र सार्वभौमसत्तामा प्वाल पार्न खोजिएको टिप्पणी गरेका छन्। बिदेशी नागरिकलाई नागरिकता प्रदान गरेर बिदेशी बाबुबाट जन्मेको छोरालाई सरकार बंशजको आधारमा नागरिकता बितरण गर्ने नीतितर्फ लागेको उनले आरोप लगाए।

प्रकाशित मिति: ९ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्