नगरपालिका होस् त यस्तो ! हाहाकार भएपछि घरघरमै लगेर पानी वितरण



पाँचथर, चैत ९

खानेपानीको हाहाकार भएपछि पाँचथरको फिदिम नगरपालिकाले अहिले फिदिम बजारवासीलाई घरघरमै लगेर पानी वितरण गरेको छ । फिदिम खानेपानी उपभोक्ता समितिबाट सञ्चालनमा ल्याइएको खानेपानीको पाइप फुटेर बिग्रिएपछि अहिले फिदिम बजारमा खानेपानीको अभाव भएको हो । खानेपानीको अभाव भएकोले दमकलबाट घरघरमै पानी वितरण गरिएको फिदिम ४ का वडा अध्यक्ष प्रकाश गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनतप्रतिनिधि भएपछि जनताको दुःखमा हामीले साथ दिनुपर्दछ, त्यसैले राहतहोस भनेर पानी वितरण गरिरहेको छौँ ।” आज पहिलो दिनमा नौ पटक दमकलबाट पानी ओसारेर वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी डम्बरबहादुर आङदेम्बेले बताउनुभयो । फिदिम बजार, जोरसाल र थाक्ले क्षेत्रमा पानी वितरण गरिएको उहाँले बताउनुभयो ।

मर्मत भएर धारामा पानी आउन अझै केही दिन लाग्ने बताइएको छ । धारामा पानी नआउनजेलसम्म पानी वितरण गरिने नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले बताउनुभयो । खानेपानीको पाइप फुटेकोले मर्मत गरी धारामा पानी आउन अझै केही दिन लाग्ने उपभोक्ता समितिका अध्यक्ष गजाधार भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति: ९ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्