प्रमुख निर्वाचन आयुक्त यादवले लिए अवकाश


 


काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आइतबारबाट अवकाश लिएका छन् । उनले अवकाश लिएपछि निर्वाचन आयोग नेतृत्वविहिन भएको छ । सरकारले संवैधानिक आयोगका प्रमुखको अवकाश हुनु एक महिनाअघि नै आयोगका प्रमुखको नाम सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ । तर निर्वाचन आयोगको प्रमुखको नाम सिफारिस गर्न सरकार उदासिन हुँदा आइतबारबाट निर्वाचन आयोग नेतृत्वविहिन हुन पुगेको हो ।

यादवले अवकाश पाउनुअघि नयाँ प्रमुख निर्वाचन आयुक्तको नाम सिफारिस गरेर संसदीय सुनुवाई समितिमा नाम पठाई समितिले अनुमोदन गरेपछि मात्र प्रमुख निर्वाचन आयुक्तमा नियुक्त हुने संवैधानिक प्रावधान रहेको छ । सरकारले यादवको अवकाशसँगै कार्यबहाक प्रमुख निर्वाचन आयुक्तको कार्यभार आयोगकी आयुक्त इला शर्मालाई दिएको छ ।

२०६३ सालयता २ कार्यकाल प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हालेका यादवलाई कान्तिपथस्थित निर्वाचन आयोगका कार्यालयमा आइतबार विदाई गरिएको छ । अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले ११ महिना भित्र संघ, प्रदेश, स्थानीय तहलगायतका ८ वटा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन पाएकोमा आफूलाई गौरवको अनुभूति भएको प्रतिक्रिया दिए ।

उनले लोकतन्त्रको सवलीकरणका लागि इमान्दारिताका साथ आफ्नो सवैधानिक दायित्व पूरा गर्न निर्वाचन आयोग सधैं सफल हुने विश्वास पनि व्यक्त गरे । अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन गर्ने मिति कानुनमै व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरे ।

आम निर्वाचन लगायतका सबै निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्न निर्वाचन कानुनमै निर्वाचनको मितिसहितको कार्यतालिका तय हुनुपर्ने उनको तर्क छ । यादवले विभिन्न तहका लागि गर्नुपर्ने उपनिर्वाचनको काममा पनि ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी पहिलो पटक २०६३ सालमा पाएका थिए । निर्वाचन आयोगको नेतृत्वको रुपमा सफल भएका यादवको पहिलो भन्दा दोस्रो कार्यकाललाई सफल मानिन्छ ।

प्रकाशित मिति: १० चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्