गाउँगाउँ गएर जनताका समस्या लिएर आउन प्रधानमन्त्रीको निर्देशन


 


काठमाडौं, चैत ११

संघीय संसदको दुबै सदनको तेस्रो अधिवेशन सकिए लगत्तै सत्ता नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपाले संसदीय दलको बैठक बोलाएको छ । बजेट अधिवेशनको तयारीका लागि नेकपाले संसदीय दलको बैठक बोलाएको हो ।

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन परिषरमा बिहान ११ बजे बस्ने संसदीय दलको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्माणमा सहयोगको पहल थाल्ने बताइएको छ । संसदको बजेट अधिवेशनको सुरुवात मै सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि नेकपाले त्यसमा समावेश हुने कार्यक्रम र अवलम्बन गर्नुपर्ने वार्षिक नीति सम्बन्धमा छलफल थाल्न लागेको हो ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्ने भएपछि सो अगावै सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदबाट पारित हुनु पर्नेछ । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई सोही अनुसारको तयारीमा जुट्न निर्देशन दिने कार्यक्रम छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, संसद अधिवेशन समेत नभएको समय गाउँ गाउँ गएर जनताको प्राथमिकता बुझ्न तथा प्राथमिकताका आधारमा वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्ने योजनाबारे सुझाव दिन प्रधानमन्त्री ओलीले आफ्नो दलका सांसदलाई निर्देशन दिनुहुनेछ ।

बैठकमा तेस्रो अधिवेशनको समीक्षा हुनुका साथै सरकारको कामबारे समेत सांसदबाट सुझाव तथा प्रतिक्रिया लिने तयारी दलको छ ।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्