विष्णु पौडेल ठगिएको भन्दै नेविसंघको एक रुपैंया सहयोग अभियान सुरु !


 


काठमाण्डौँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई क्षतिपुर्ति दिन एक रुपैंया अभियान सुरु गरेको छ ।

बालुवाटारको सरकारी जग्गा छोरा नवीनको नाममा ल्याउँदा विष्णु पौडेल ठगिएको व्यंग गर्दै नेविसंघ काभ्रेले शनिबार एक रुपैंया सहयोग अभियान गरेको हो ।

‘बालुवाटारको सरकारी जग्गा खरिदको क्रममा ठगिएका पीडित नेकपा महासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलज्यूलाई क्षतिपुर्ति स्वरुप १ रुपैंया सहयोग संकलन कार्यक्रम’ लेखिएको कालो ब्यानर बोकेर नेविसंघले अभियान सुरु गरेको हो ।

शनिबार ६ सय ७३ रुपैंया संकलन भएको नेविसंघ निवर्तमान केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिए । नेविसंघ काभ्रे सभापति निर्पेश बादेको नेतृत्वमा चारदोबाटो बजारमा एक रुपैंयाका दरले बटुवासँग उक्त रकम संकलन गरिएको हो । संकलित रकम पौडेललाई क्षतिपुर्ति दिन नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेविसंघले जनाएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा ल्याउँदा पौडेल ठगिएको बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बताएपछि नेविसंघले क्षतिपुर्ति दिन एक रुपैंया अभियान चलाएको हो । जग्गा नक्कली परेको र महासचिव पौडेल ठगिएको प्रवक्ता बाँस्कोटाले बताएका थिए ।

प्रकाशित मिति: ३० चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्