नयाँ वर्षको सुरवातसँगै सिरुवा पर्व सुरु


 


झापा, बैशाख १

नयाँ वर्षको सुरवातसँगै पूर्वी तराईका आदिवासी कोच समुदायको सिरुवा पर्व सुरु भएको छ । नयाँ वर्षको आगमनलाई स्वागत गर्दै राजवंशी, ताजपुरिया, गनगाई, मेचे माझीलगायत कोच जातिका समुदायले आजदेखि तीन दिनसम्म सिरुवा पर्व मनाउने गर्दछन्।

कोच समुदायमा यो पर्वले निकै महत्व बोकेको छ । वर्षभरिको रिसरागलाई पानीले पखालेर आपसमा पानी हालेर पहिलो दिन पानी सिरुवा, दोस्रो दिन आफ्नो कुल देवीदेवताको पूजा गर्ने गरिन्छ ।

वर्षको एक दिन माटोसँग खेलेमा शरीरका रोगहरु नाश हुने मान्यता रहेकाले आपसमा हिलो लगाएर काद सिरुवा खेल्ने र सिरुवाको अन्तिम दिन नयाँ वर्षलाई हर्सोल्लासका साथ रङ्गले खेलेर समापन गरिने प्रचलन रहेको झापा, कमल गाउँपालिका–६ का आदिवासी समुदायका अग्रज नित्यानन्द ताजपुरियाले बताउनुभयो ।

परापूर्वकालदेखि आदिवासी समुदायले मनाउँदै आएको सिरुवा पर्व विगतका केही वर्षहरुमा सामुहिक रूपमा मनाउँदै आएको नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिवसमेत रहेका ताजपुरिया बताउनुहुन्छ । यो पर्वमा विभिन्न परिकार खाने र संस्कृति झल्कने नाचगान गर्ने चलन छ । झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्दै आएका राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा मनाउने गर्छन् ।

प्रकाशित मिति: १ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्