नगरपालिकाका मेयरसहित ४ जना विरुद्ध पक्राउ पुर्जी
![](https://www.deshkonews.com/wp-content/uploads/2019/06/nepal-gov-logo.jpg)
राजविराज। डिभिजन वन कार्यालय सप्तरीले वन क्षेत्रमा अनधिकृत रुपमा नाला निर्माण गरेको आरोपमा नगरपालिकाका मेयर सहित ४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। राष्ट्रिय वन क्षेत्रभित्र अनधिकृत रुपमा जेसिभी प्रयोग गरेर ९५ मिटर लम्बाई र करिब २ मिटर चौडाईको नाला निर्माण गरेपछि सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार शर्मासहित ४ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको डिभिजन वन कार्यालयले बताएको छ।
नाला निर्माण सुरु गरेपछि लिखित रूपमा गरिएको आग्रह समेत वेवास्ता गरेपछि पक्राउ पुर्जी जारी गर्नुपरेको डिभिजन वन कार्यालयले बताएको छ। ‘हामीले २/३ पटक पत्राचार गरेर निर्माण कार्य रोक्न आग्रह गर्यौँ,’ उनले भने,‘तर वन कार्यालय र कर्मचारीलाई समेत वेवास्ता गरेर जबर्जस्ती कामलाई निरन्तरता दिएपछि बाध्य भएर पक्राउ पुर्जी जारी गर्नु परेको हो।’ डिभिजन वन कार्यालयका प्रमुख धीरेन्द्रप्रसाद सिंहले बताए।
वन संरक्षणको जिम्मेवारी पाएको वन कार्यालय र कर्मचारी समेतलाई बेवास्ता गरेपछि कानुनले दिएको अधिकार प्रयोग गरी पक्राउ पुर्जी जारी गर्नुपरेको उनको भनाई छ। ‘मेरो जागिरको पनि सवाल उठ्छ। कानुनले दिएको अधिकार प्रयोग गरेरै पक्राउ पुर्जी जारी गर्नुपरेको हो,’ उनले थपे,‘अदालतको आदेशमै तीन दिनअघि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।’
मेयर शर्माले पनि वन कार्यालयले पक्राउ पुर्जी जारी गरेको विषय पुष्टि गरेका छन्। वन क्षेत्र भएर निस्कने खहरे खोला नियन्त्रणका लागि सुरु गरिएको नाला निर्माणको काममा वन कार्यालयले अवरोध गरेको उनको जिकिर छ। कार्यापालिकाको निर्णयअनुसार करिब ६ लाखको लागतमा नगरपालिकाले उपभोक्ता समितिमार्फत् नाला निर्माणको काम गरिरहेको उनको भनाइ छ।
प्रकाशित मिति: १९ जेष्ठ २०७६, आइतबार