भाेजपुरे चेली मिराले जितिन् रजत पदक


 


mira Raiकाठमाडाैं, बैशाख २०

नेपालकी चर्चित अल्ट्रा धाविका मिरा राईले बेलायतमा शनिबार राती भएको थ्री पिक्स दौडमा रजत पदक जितेकी छिन। मिराले सिजनमा सुखद सुरुआत गर्ने क्रममा थ्री पिक्स ३७.४ किलोमिटरको अल्ट्रा म्याराथनमा दोस्रो स्थान हासिल गरेकी हुन्। पछिल्लो तीन वर्षमा मिराले विश्व स्तरका अल्ट्रा दौडमा कीर्तिमानी सफलता हासिल गरिसकेकी छिन।

गत असोजमा मिराले स्पेनमा भएको सालोमन प्रिनेउ अल्ट्रा म्याराथनमा दोस्रो स्थान हासिल गरेकी थिइन। मिरा अल्ट्रा स्काई म्याराथन विश्व सिरिज २०१५ को उपविजेता हुन्। मिरा यसअघि फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लांक म्याराथनमा पहिलो भएकी थिइन।

त्यस्तै मिराले हङकङ, अष्ट्रेलिया, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र इटालीलगायतका देशमा भएका अल्ट्रा दौडमा भाग लिइसकेकी छिन। उनी एसियन च्याम्पियनसिप तथा विश्व च्याम्पियनसिपकी स्वर्ण विजेता खेलाडी हुन्। मिराले गत वर्ष फेब्रुअरी १७ मा हङकङमा भएको ५० किलोमिटरको एसियन अल्ट्रा म्याराथन र जुन १६ मा फ्रान्समा भएको ८० किलोमिटरको विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन।

बेलायतको सफलतापछि मिराले उतैबाट स्पेनमा हुने ७५ किलोमिटरको ट्रान्स–भुल्कानिया, पोर्चुगलमा हुने ५५ किलोमिटरको अल्ट्रा स्काइम्याराथन, स्पेनमा हुने १ सय १० किलोमिटरको अल्ट्रा पिरिनेउ र स्पेनमै हुने १ सय ५ किलोमिटरको बुफ इपिकमा भाग लिएर फर्किने योजना रहेको बताएकी छिन । भोजपुरकी मिरा सशस्त्र द्वन्द्वकालमा माओवादी सेनामा आवद्ध थिइन ।

शान्ति सम्झौतापछि अयोग्य लडाकु घोषित भएकी उनी खेलकुदमा होमिएकी थिइन । मार्सल आर्टस हुदै मिरा अल्ट्रा दौडमा सहभागी भएकी हुन् । यसैगरी नेपालका भीम गुरुङले चीनमा भएको येदिङ स्काइरनको स्वर्ण पदक जितेका छन् ।

स्काइरनतर्फको समग्र नतिजामा भने भीमले दोस्रो स्थान हासिल गरे । चीनमा हुने प्रतिष्ठित प्रतियोगितामा स्वर्ण जित्ने भीम पहिलो नेपाली धावक हुन । गोर्खाका धावक भीम स्वर्ण पदकसँगै ३ हजार डलरबाट पुरस्कृत भए । भीमले गत वर्ष तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको उपाधि जितेका थिए।

प्रकाशित मिति: २० बैशाख २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्