कां‌ग्रेसबाट प्रधानमन्त्री बन्ने प्रस्ताव आएको दाहालको खुलासा


 


pushpa_kamal_dahal

काठमाडौं, वैशाख २२-एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई विपक्षी नेपाली कांग्रेसबाट नयाँ सरकारको नेतृत्व प्रस्ताव आएको खुलासा गरेका छन्।

सत्ता नेतृत्वकर्ता नेकपा एमालेसँग बालुवाटरमा मंगलबार राति अबेरसम्म भएको दुईदलीय बैठकमा दाहालले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको जनाउँदै त्यसमा एमालेको धारणा मागेका छन्।

‘कांग्रेसले आफूलाई संविधान कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको छ,’ अध्यक्ष दाहाललाई उद्धृत गर्दै एकीकृत माओवादी सचिव वर्षमान पुनले नागरिकसँग मंगलबार राति भने, ‘तपाईंहरु यसमा के भन्नुहुन्छ ?’

दाहालले एमालेसँग लामो समय सहकार्य भएको स्मरण गर्दै बैठकमा आफूलाई प्रधानमन्त्री बनाउने कांग्रेस प्रस्तावबारे धारणा मागेको पुनले जानकारी दिए । ‘प्रधानमन्त्रीले पार्टीको आगामी बैठकमा छलफल गरेर जवाफ दिन्छु भन्नुभयो,’ पुनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन कसरी अघि बढाउने भन्ने विषयमा बालुवाटारमा सत्ताघटक दुई दलको बैठक डाकेका थिए ।

साँझ बैठक सुरु गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारबारे बाहिर धेरै कुरा सुनिएको भन्दै खुलस्त भएर आफ्ना कुरा राख्न दाहाललाई आग्रह गरेका थिए ।

त्यसलगत्तै दाहालले भनेका थिए, ‘संविधान निर्माणमा सहकार्य भयो, राम्रो भयो, कार्यान्वयनका बेलामा पनि हामी एकै ठाउँ भयांैं, नाकाबन्दी सामना ग¥यौं, कांग्रेस आएको भए झन् राम्रो हुनेथियो, उसलाई ल्याउनु अझै आवश्यक छ ।’

बैठकमा एमालेबाट माधवकुमार नेपाल, झलनाथ खनाल, माओवादीबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुनलगायतले धारणा राखेका थिए ।

एमाले कार्यकर्ताले आफ्ना नेता–कार्यकर्तामाथि सत्यनिरुपणमा उजुरी गर्नेलगायत कारण माओवादीभित्र तनाब सिर्जना भएको भन्दै बैठकमा एमाओवादीले ओलीसँग आक्रोश पोखेको थियो ।

प्रधानमन्त्री बैठकको सुरुमै सत्यनिरुपणबारे विवाद मिलाएर जान सकिने धारणा राखेपछि एमाओवादीबाट आक्रोश व्यक्त भएको थियो। एमाले वरिष्ठ नेता झलनाथ खनालले बैठकमा एकीकृत माओवादीबाट सरकारप्रति असन्तुष्टि व्यक्त गरेको आजको नागरिक दैनिकमा खबर छ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले नेताहरुबीच धेरै विषयमा छलफल भएको जनाउँदै पार्टीभित्र थप छलफल गर्ने बताए। ‘थप छलफल गरी भोलि (बुधबार) बिहान ९ बजे पुनः बस्ने सहमति भएको छ,’ उनले भने ।

बैठकमा प्रधानमन्त्री ओली, खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम, भीम रावल, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, कानुनमन्त्री अग्नि खरेललगायत थिए।

एकीकृत माओवादीबाट अध्यक्ष दाहाल, उपाध्यक्ष श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिवत्रय वर्षमान पुन, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, गृहमन्त्री शक्ति बस्नेत, कोषाध्यक्ष हरिबोल गजुरेल, जनार्दन शर्मालगायत थिए।

प्रकाशित मिति: २२ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्