को को परे राष्ट्रपतिको भारत भ्रमणमा?


 


rastapati bidya

राष्ट्रपति विद्यादेवी भण्डारीको आगामी साता हुने भारत भ्रमणमा २२ सदस्यीय टोली सहभागी हुने भएको छ।

टोलीमा एक मन्त्री, परराष्ट्र सचिव शंकरदास बैरागी, शिष्टाचार महापाल रमेश खनाल, राष्ट्रपतिका विदेश मामिला विज्ञ डा. मदनकुमार भट्टराई, उपसचिव हरिप्रसाद ओडारी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी, अधिकृत चक्रकुमार सुवेदी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयका अधिकारीलगायत रहनेछन्। त्यस्तै दुईजना सुरक्षाकर्मी र सरकारी सञ्चारमाध्यमका दुईजना पत्रकार पनि टोलीमा रहनेछन्।
राष्ट्रपतिको भ्रमणमा रहने सवारीमन्त्रीको निधो अझै लागिनसकेको परराष्ट्र अधिकारीले बताए। राष्ट्रपति वैशाख २९ गतदेखि पाँचदिने औपचारिक भ्रमणमा भारत जाँदैछिन्। स्रोतका अनुसार आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रपति भ्रमण टोलीको टुंगो लगाउनेछ।

पूर्ववर्ती सुशील कोइराला नेतृत्वको सरकारले तयार गरेको भ्रमण निर्देशिकामा राज्य प्रमुख या सरकार प्रमुखको विदेश भ्रमणमा १९ जना र विशेष अवस्थामा तीनजना थपेर २२ जना सहभागी हुनसक्ने व्यवस्था छ।

सरकारले प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमण चुस्त र मितव्ययी बनाउन जारी गरेको उक्त निर्देशिकाबमोजिम राष्ट्रपतिको भ्रमण टोलीको निधो गरिन लागेको सरकारी अधिकारीले बताए। कम्तीमा २० र बढीमा २२ जना राष्ट्रपतिको भ्रमण दलमा रहने गरी तयारी भइरहेको छ।

राष्ट्रपति भण्डारी पहिलो औपचारिक भ्रमणका सिलसिलामा भारत जान लागेकी हुन्। भण्डारी पाँच दिन भारतमा रहनेछिन्। नयाँदिल्ली बसाइको दोस्रो दिन राष्ट्रपति भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्।

राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवनमै राखिने भएको छ। राष्ट्रपतिलगायत भ्रमण दलका १० जनालाई राष्ट्रपति भवनमा र अन्य १० जनालाई होटलमा राखिने भएको छ। दुई महिनाअघि भारतको राजकीय भ्रमणमा गएका प्रधानमन्त्री केपी ओलीलाई पनि राष्ट्रपति भवनमै राखिएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतले भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्। भारतका विभिन्न दलका नेताहरूले पनि भण्डारीसँग भेट्नेछन्। नयाँदिल्लीपछि राष्ट्रपति भण्डारी भारतको मध्यप्रदेशस्थित उज्जैनमा आयोजना हुने कुम्भमेलामा सहभागी हुनेछिन्।

प्रकाशित मिति: २२ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्