नेपाललाई भारतले हिन्दू राज्य बनाउन खर्च गरेको अमेरिकी ठहर


 


काठमाडौं, ८ असार । विश्व महाशक्ति संयुक्त राज्य अमेरिकाले पहिलो पटक आफ्नो विदेश नीतिमा धार्मिक मुद्दालाई जोड दिएको एउटा प्रतिवेदन तयार पारेको छ । जहाँ नेपाल सन्दर्भमा भारतीय संस्थापन भारतीय जनता पार्टीले हिन्दू राज्य बनाउनका लागि खर्च गरेको आरोप पनि लगाइएको छ ।

हालै मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास मानिने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दू राज्य हुनसक्ने बताएका थिए । नेपालका पत्रकारको एउटा टोलीसँगको संवादमा उनले त्यसो बताएका थिए ।

तर, त्यो भन्दा अघि नै शुक्रबार अमेरिकी सरकारको एउटा प्रतिवेदनले नेपालमा भारतीय जनता पार्टीले हिन्दु धर्मका लागि खर्चालु व्यवाहार गरेको उल्लेख छ । रिपोर्ट अन इन्टरनेशनल रिलिजियस फ्रिडम– २०१८ मा यस्तो उल्लेख भएको विवरणहरू सार्वजनिक भएका छन् ।

उसले भनेको छ,‘भाजपाले नेपालका सवैजसो राजनीतिक दलका नेताहरूलाई पैसा दिएको छ ।’

नेपालमा इसाई धर्म निकट संघसंस्थाले पैसा बाँडेको भनी विरोध भइरहेका बेला अमेरिकाले सार्वजनिक गरेको यो प्रतिवेदन ठ्याक्कै उल्टो छ ।

अमेरिकी विदेशमन्त्री माइक पम्पेओले सन् २०१८ को १ जनवरीदेखि ३१ डिसेम्बरसम्मका घटनाक्रमका आधारमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गरेका थिए । विश्वभरका घटना समेटिएको अमेरिकी प्रतिवेदनमा नेपालसम्बन्धी प्रसंग १४ पृष्ठमा दिइएको छ ।

सो प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकी विदेशमन्त्री पम्पेओले धर्मका आधारमा कतिपय मुलुकमा जेल पठाइनुका साथै हत्यासमेत भएको जनाएका छन् । उनले ट्रम्प प्रशासनले धार्मिक स्वतन्त्रतालाई पहिला कहिल्यै नभएको विदेश मामिलाको एजेन्डाका रुपमा अहिले प्रवर्धन गरेकोसमेत उल्लेख गरेका छन्

प्रकाशित मिति: ८ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्