नेपाली कांग्रेसलाई बाबुरामको सुझाव– पहिला अपहरित बिपीको रक्षा गर,अनि क्षमा पूजा पछि गरौला


 


काठमाडौं, असार ९ । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसलाई सुझाव दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बिपीको मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तका रुपमा लिएपछि डा. भट्टराईले गएराति ट्वीट गर्दै कांग्रेसलाई सुझाव दिएका छन्, ‘बिपीलाई अब राप्रपाले अपहरण गरेछ । बिपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई कांग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो । बिपीको आत्माले के भन्दै होला ? कांग्रेसी मित्रहरु हो, पहिले अपहरित बिपीको रक्षा त गर, बाबुरामको क्षमापूजा पछि गरौला । हामी साथ दिन तयार छौं ।’

केहीदिन अघि कांग्रेसका युवा नेता गगन थापाले संसदीय निर्वाचनमा कांग्रेसले तालमेल गरेर डा. भट्टराईलाई जिताएकोमा क्षमापूजा गर्नुपर्ने तर्क गरेका थिए ।

लगत्तै बाबुरामले ट्वीटमार्फत नै प्रतिक्रिया जनाउँदै भनेका थिए, ‘कांग्रेसका साथीहरुले चुनावी तालमेलको राजनीति बुझ्नु राम्रो होला, गोरखा र रसुवामा नयाँ शक्ति र नेपाली कांग्रेसबीच तालमेल भएको हो । गोरखा–२ मा नयाँ शक्ति र रसुवामा नेपाली कांग्रेसले जितेको हो । नयाँ शक्तिको समर्थन विना नेपाली कांग्रेसले रसुवामा जित्ने थिएन भन्ने चाहीँ किन बिर्सेको ? एकता र विरोध दुवै हुन्छ है लोकतन्त्रमा !’

प्रकाशित मिति: ९ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्