नीति कार्यक्रमको समर्थन र आलोचना जारी


 


parliament-nepal

काठमाडौँ, २८ वैशाख । सत्ता पक्षले सरकारको नीति तथा कार्यक्रमको बचाउ गर्दै समर्थन गरेको छ भने प्रतिपक्षीले कार्यान्वयन हुनै नसक्ने दस्तावेजका रुपमा कार्यक्रम आएको भनी आलोचना गरेको छ ।

सरकारले व्यवस्थापिका–संसद्मा यही वैशाख २६ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०७३÷७४ को नीति तथा कायक्रममाथि आजदेखि सुरु भएको छलफलमा सत्तारूढ घटक एकीकृत नेकपा (माओवादी)ले भने आलोचनात्मक समर्थन जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसद्ले नीति कार्यक्रम हचुवाको भरमा आएको र कार्यान्वयनमा चुनौती रहेको बताएका छन्। उनीहरुले वर्षैपिच्छे फेरिने सरकारका कारण नीति कार्यक्रम सदैव प्रचारमुखी मात्र हुने गरेको र कार्यान्वयनमा नआई असफल हुने गरेको धारणा राखे।

उनीहरुले सरकारले स्थानीय निर्वाचनको पक्षमा रहेका संसद्को सबैभन्दा ठूलो दल काँग्रेस र आन्दोलनरत मधेस केन्द्रित दलसँग कुनै सरसल्लाह नगरी घोषणा गरेकाले तोकिएको समयमा निर्वाचन हुन नसक्ने जिकिर गरे। नेपालको संविधानलाई सर्वस्वीकार्य बनाएर प्रदेश संरचना कार्यान्वयनका बारेमा नीति कार्यक्रम मौन रहेको उनीहरुको टिप्पणी थियो ।

काँग्रेसका सांसदले विकास निर्माण र मुलुक समृद्धिका मुद्दामा आफूहरु विपक्षमा नउभिने बताउँदै सरकारको नीति कार्यक्रम मीठा शब्दले भरिएको र परिचालन हुने स्रोतसाधनका बारेमा बेवास्ता गरिएको विचार व्यक्त गरे ।

कांग्रेसका सांसद धनराज गुरुङ, वीरबहादुर बलाएर, भरतकुमार शाह, भरतबहादुर खड्का, रामकृण यादव, राजन केसी, केशवकुमार बुढाथोकी, हरिप्रसाद नेपाल, रामचन्द्र पोखरेल, तारणीदत्त चटौत, बहादुरसिंह लामा लगायतले विपक्षीको समन्वयमा नीति तथा कार्यक्रम परिमार्जित गरेर ल्याएमा कार्यान्वयनमा सहजता हुने सुझाव दिए।

एमाओवादीका सांसदले नीति कार्यक्रमका केही बुँदा समसामयिक र उत्कृष्ट भए पनि कतिपय बुँदामा रहेका कुरा महत्वाकाङ्क्षी भएकाले कार्यान्वयनमा चुनौती रहने स्पष्ट सङ्केत देखिएको भने। उनीहरुले सरकारले राम्रो नीति कार्यक्रम ल्याउन प्रयास गरिएको भए पनि प्रयास अपुग छ भने। एमाओवादीका सांसद जनकराज जोशी, सूर्यप्रकाश बाला राई, लगायतले छलफलमा भाग लिनुभएको थियो ।

प्रमुख सत्तारूढ दल नेकपा (एमाले)का सांसदले नीति कार्यक्रमले नयाँ संविधानका अधिकांश बुँदालाई समेटेको उल्लेख गर्दै राष्ट्रिय हितका लागि कोही पनि दल पक्ष र विपक्ष हुन नहुने धारणा राखे।

एमालेका सांसद काशीनाथ अधिकारी, रन्जुकुमारी झा, वंशिधर मिश्र, वैजनाथ चौधरी, सिन्धु जलेशा बुढाथोकी लगायतले कार्यक्रमलाई सबैले स्वागत गर्नुपर्ने बताउँदै राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर कार्यान्वयनमा एकबद्ध भएर लाग्नुपर्नेमा जोड दिए। ।

नीति तथा कार्यक्रममाथि आज भएको छलफलमा नवराज शर्मा, प्रेमबहादुर गिरी, दुलारी हरिजन, कमलाकुमारी घिमिरे, रेशमबहादुर बानियाँ, मानबहादुर खत्री, नरभान कामी, नरबहादुर थापालगायत ४२ जना सांसदले भाग लिएका थिए ।

नीति तथा कार्यक्रममाथिको छलफल यही वैशाख ३० गतेसम्म चल्ने र ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । रासस

प्रकाशित मिति: २८ बैशाख २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्