बजेटमार्फत पत्रकारका माग सम्बोधन : सञ्चारमन्त्री राई


 


rss

काठमाडौँ, ६ जेठ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बजेटमार्फत पत्रकारका अधिकांश माग सम्बोधन गरिने बताएका छन् ।

प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य दिँदै मन्त्री राईले बजेटले पत्रकारका धेरै माग सम्बोधन हुने बताएका हुन्। उनले भने, ‘आगामी बजेटमा केही नयाँ कुरा ल्याउन लागिएको छ। त्यसबाट तपार्इंहरुको धेरै माग सम्बोधन हुन्छ।’

सञ्चारमन्त्री राईले आमसञ्चार नीतिको आन्तरिक मस्यौदा तयार पारिएको समेत जानकारी दिए। उनले भने,’श्रमजीवी पत्रकार ऐनलाई व्यवहारमा उतार्ने सिलसिलामा सरकार न्यूनतम पारिश्रमिक लागू गर्न अगाडि बढिरहेको छ ।’

सरकारका प्रवक्तासमेत रहेका मन्त्री राईले संविधानको पुनर्लेखनको कुरा डरलाग्दो भएको बताउँदै पुनर्लेखनलाई स्वीकार गर्न नसकिने धारणा राखे। उनले मधेसी मोर्चाका मागलाई अधिकतम लचकताका साथ  सम्बोधन गर्न सरकार तयार रहेको बताए।

सञ्चारमन्त्री राईले सरकार नीति तथा कार्यक्रम पारित गरेर मुलुक निर्माणको अभियानमा लागिसकेको बताउँदै भने,‘सरकार मुलुकको निर्माणमा अगाडि बढेको छ । अब पछाडि फर्कंदैन।’’

उद्घाटन समारोहमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, प्रेस युनियन नेपालका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्य, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मालगायतले शुभकामना मन्तव्य दिएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको महाअधिवेशन शनिबारसम्म चल्नेछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

उद्घाटनसत्रमा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: ६ जेष्ठ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्