विद्युत् प्राधिकरण सवा ७ अर्ब नाफामा, औद्योगिक करिडोरमा भने दैनिक १५ पटक ट्रिपिङ


 


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा ७ अर्ब २० करोड नाफा कमाएको तथ्यांकले उत्साहित हुँदै गर्दा पूर्वी नेपालको मोरङ–सुनसरी औद्योगिक करिडोरमा विद्युत् ट्रिपिङ भयावह बनेको भन्दै उद्योगी–व्यवसायी आन्दोलित भएका छन् ।

औद्योगिक क्षेत्रमा दैनिक १५ पटकभन्दा बढी विद्युत् कटौती हुने समस्याले औद्योगिक उत्पादनमै प्रतिकूल प्रभाव पारिरहेको छ । यसैले प्राधिकरणले नाफा कमाएको भनेर उत्साही हुँदै गर्दा बढ्दो ट्रिपिङले प्राधिकरणको सफलतामा दाँतमा ढुंगा लागेसरह भएको छ ।

यसरी विकराल बन्दै गएको ट्रिपिङ समस्या समयमै समाधान नगर्ने हो भने प्राधिकरणको व्यवस्थापनविरुद्ध जनमत तयार नहोला भन्न सकिँदैन ।

यता, प्राधिकरणको प्रगति लोभलाग्दो छ । प्राधिकरणले आर्थिक वर्ष ०७५,७६ मा अघिल्लो वर्षको तुलनामा १ सय ४९ प्रतिशतले बढी नाफा कमाएको छ र पछिल्लो दस वर्षमा भने प्राधिकरण तीन वर्षदेखि नाफामा जान थालेको छ । आव ०७२,७३ मा मात्रै ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण यसरी नाफामा जानुलाई सफलताको सूचक नै मान्नुपर्छ ।

विद्युत् चुहावट पछिल्लो तीन वर्षमा १०।४६ प्रतिशतले घटेकैले प्राधिकरणको नाफा बढेको जनाइएको छ । यस तथ्यांकका आधारमा प्राधिकरण नेतृत्व र व्यवस्थापनको खुलेरै प्रशंशा गर्न सकिए पनि अझै पनि ट्रिपिङजस्ता व्यवस्थापकीय सुधारमा प्राधिकरणको बल पुगेको छैन । काठमाडौं उपत्यकाभित्रै पनि यस्तो समस्या पछिल्लो दिनमा बढ्दै गएको छ र यसले समग्र औद्योगिक, व्यावसायिकसँगै घरायसी क्षेत्रकै उत्पादकत्व कमजोर बन्दै गएको छ ।

सरकारले मुलुकलाई लोडसेडिङमुक्त घोषणा गरिसकेको छ । विद्युत् प्राधिकरणले पनि भारतबाट आयात गरेरै भए पनि माग र आपूर्तिबीच सन्तुलन कायम गरिएको दाबी गरिरहँदा पूर्वी नेपालको मुख्य औद्योगिक करिडोरको भयावह अवस्थाले सतर्क गराएको छ । फलाम र प्लास्टिकजन्य कच्चा पदार्थ प्रशोधन गर्ने भट्टी तताउन लगातार १२ घण्टा बिजुली चाहिन्छ ।

तर, दिनमै १५ पटक विद्युत् कटौती हुँदा भट्टी तात्नै सक्दैन र यसको असर उत्पादनमा पर्दछ । उद्योगीले विद्युत् कटौतीको बेलामा जेनेरेटर चलाएर औद्योगिक उत्पादन नियमित गर्थे भने अहिले सरकारको विश्वासमा पर्दा संकट उत्पन्न भएको छ । अर्कातर्फ विद्युत् रोकिँदा उत्पादन गर्न लागिएका सामानको गुणस्तरमै असर पर्ने व्यवसायीहरूको भनाइ छ । यसरी जुन कारणले होस्, बारम्बार भइरहेको ट्रिपिङ रोकेर गुणस्तरीय सेवा दिन विद्युत् प्राधिकरणको दायित्व नै हो ।

विद्युतको यही अवस्थाका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् भने उत्पादन लागत पनि बढेको छ । यसले नेपाली उत्पादनको प्रतिस्पर्धी क्षमता नै कमजोर बन्दै गइरहेको छ । अर्कातर्फ भोल्टेज तल–माथि र लो भोल्टेजको समस्या वर्षौंदेखि रहेको अवस्था पनि उस्तै नै छ ।

प्रकाशित मिति: ३२ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्