कुमारी बैंकलाई अन्तर्राष्ट्रिय ‘फिन्याकल इनोभेसन अवार्ड’मा प्ल्याटिनम सम्मान
काठमाडौँ, १ असार । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय प्रतिष्ठित ‘Infosys Finacle Innovation Awards 2026’ अन्तर्गत व्यावसायिक मोडेल नवप्रवर्तन (Business Model Innovation) विधामा प्ल्याटिनम सम्मानबाट सम्मानित भएको छ।
बैंकले ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया (KYC Workflow Compliance) सम्बन्धी नवप्रवर्तनात्मक प्रणाली कार्यान्वयन गरेबापत उक्त सम्मान प्राप्त गरेको जनाएको छ।
इन्फोसिस फिन्याकलद्वारा हरेक वर्ष आयोजना गरिने यस अवार्ड कार्यक्रममा विश्वभरका बैंक तथा वित्तीय संस्थाका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणका अभ्यासलाई सम्मान गरिन्छ। यस वर्ष ९ विधामा ५०० भन्दा बढी आवेदन परेका थिए।
कुमारी बैंकले आफ्नो केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत ग्राहक पहिचान प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउँदै नियामकीय मापदण्डको पालनामा उल्लेखनीय योगदान पुर्याएको मूल्याङ्कन गरिएको थियो। बैंकका अनुसार उक्त प्रणालीले डिजिटल प्रविधिमार्फत सेवा प्रवाहलाई थप पारदर्शी, सुरक्षित र भरपर्दो बनाएको छ।
यस सम्मानसँगै कुमारी बैंकले नवप्रवर्तनमार्फत सुरक्षित, ग्राहककेन्द्रित र विश्वसनीय बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता थप सुदृढ भएको जनाएको छ। साथै, आगामी दिनमा डिजिटल समाधान विस्तार गर्दै ग्राहकलाई अझ सहज र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने बैंकले जनाएको छ।
प्रकाशित मिति: १ असार २०८३, सोमबार











