कस्ताे छ महामन्त्री काेइरालाकाे स्वास्थ्य अवस्था ?


 


स्वास्थ्यमा सुधारको सङ्केत

Sashanka-koiralaकाठमाडौँ, असार २२

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य स्थितिमा केही सुधार देखिएपनि अझै गम्भीर रहेको छ । चावहिलस्थित ओम अस्पतालमा उपचार गराइरहनुभएका महामन्त्री कोइरालालाई आज बिहान अचानक बान्ता भएपछि स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । वान्ता गर्ने क्रममा उहाँको फोक्सोमा खाना अड्किएपछि निमोनियाको सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।

उपचारमा संलग्न डा लव जोशीले महामन्त्री कोइरालाको स्वास्थ्य केही सुधारोन्मुख देखिएपनि अझै गम्भीर नै रहेको जानकारी दिनुभयो । अस्पताल परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा डा जोशीले महामन्त्री कोइरालाको स्वास्थ्यमा केही सुधार देखिएको र बोलाउदा उहाँले महसुस गरेको बताउनुभयो ।

डा जोशीले भन्नुभयो, “अहिलेकै अवस्थामा कम्तीमा २४ घन्टा समय पार भयो भने स्वास्थ्यमा सुधार आउनेमा हामी आशावादी छौँ ।” नेता कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबको अवस्था स्थिर रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “पर्याप्त मात्रामा पिसाब गर्नुभएको छ, यो राम्रो सङ्केत हो ।”

बिहानको तुलनामा मिर्गौला र कलेजोमा समेत सुधार देखिएको र अहिले उहाँको रक्तचापको अवस्था १२०–५० हुनुका साथै चिकित्सकले औषधिको पूरा मात्रा दिएर उपचार भइरहेको जनाएका छन् । स्वास्थ्यमा सुधार ल्याउन सजिलो होस् भन्नाका लागि महामन्त्री कोइरालालाई कृतिम श्वास प्रश्वासको सहयोग दिइएको छ ।

उहाँको गम्भीर स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चिकित्सकले एयर एम्बुलेन्समार्फत विदेश लैजानुभन्दा उपचारको सबै व्यवस्था यही गर्नु उपयुक्त हुने जनाएका हुन । कोइरालाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले महामन्त्रीलाई बोलाउदा सुनेजस्तो गरी आँखा खोलेको जानकारी दिनुभयो ।

प्रकाशित मिति: २२ असार २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्