कविता-तिमीमात्र सत्य होइनौ


 


shashi
शशी लुमुम्बू

यस पृथ्वीमा —
तिमीजस्ता धेरै मानिसहरू बस्छन्
तिमी जे सोच्दछौ
त्यो तिनीहरू पनि सोच्न सक्छन्
तिमी जे बोल्दछौ
त्यो तिनीहरू पनि बोल्न सक्छन्
देख्दछन् तिमीले झैँ
उनीहरूले पनि सुन्दर सपना
नठान — ममात्रै सत्य हुँ
र, भ्रम हुन् अरु सबै…..!

तर तिमीमात्रै सत्य होइनौ !

सत्य हो —
तिमीसँगै उभिएको खिर्राको बोट
आखैअघिल्तिर फुलेको चोयाको रुख
र, घोर अन्धकारको ‘भाइरस किल’ गर्दै
पूर्वक्षितिजमा उदाइरहेको बालक सूर्य !

मूच्र्छा पर्दै
बौरिँदै
मरुन्जेली खोक्दै
ओरालैओरालो झरिरहेको बूढो जोगी
उसैलाई पछ्याइरहेको नौजवान खहरे
र, छेवैको घनाजङ्गलबाट
सर्वत्र फैलिरहेको रगतको आलो गन्ध
सबै सत्य हुन्…..
तिमीमात्र सत्य होइनौ !

प्रकाशित मिति: ३१ असार २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्