बीपीकाे त्याे सम्बाेधन


 


bp koiralaलामो प्रवासकालपछि हामी स्वदेश फर्कँदै छौँ । यसअवसरमा एकदुई शब्द देशवासीहरुको नाममा सम्बोधन गर्नु उचित ठान्दछु । हाम्रो देश आज संकटमा छ । यता केहि वर्षदेखि यो संकट चर्किँदै गएको कुरा सबैले महसुस गरेकै हो । यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ । यस तथ्यलाई अरुले पनि स्वीकारेका छन् । महाराजधिराज लगायत सबैले बखतबखतमा राष्ट्रिय अस्तित्वमाथि परेको खतराको चर्चा गरेका छन् । यो गम्भीर वास्तविकतालाई बुझेर हामी स्वदेश फर्कँदै छौँ । हाम्रो विचारमा अस्तित्वको संकट पर्नुको मुख्य कारण राष्ट्रियताको अभाव हो । यसले गर्दा हाम्रो देशमा विदेशी तत्व कुचक्र चलाउन सफल हुन थालेका छन् । राष्ट्रिय एकता सम्पूर्ण जनताको सामुहिक प्रयासबाट हुने अभियान र कार्यले स्थापित हुन्छ । यस्तो सामुहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ । कोरा नाराले मात्र हुने भए १६ वर्षमा राष्ट्रिय एकता यसरी छिन्नभिन्न भएर यस सोचनीय स्थितिमा देशले भोग्नुपर्ने थिएन । आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ती र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला छ । यस्तो परिस्थितिमा सबभन्दा पहिले हत्या राष्ट्रियताको हुन्छ ।

हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको लागि मात्र थियो । त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढि जोड दियौँ । आज यसमा एउटा नयाँ आयाम थपिएको छ । नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ । यो दोस्रो जिम्मेवारी हो– देशको अस्तित्वको रक्षा गर्ने । हामीले वर्तमान नेपालको परिस्थितिको दुईमुखे रुप देखेका छौँ– राष्ट्रियता र प्रजातन्त्र ।

भन्नुको तात्पर्य के हो भने, प्रजातन्त्रको प्राप्ति र राष्ट्रको रक्षा दुवै जिम्मेवारी नेपालीले लिनुपरेको छ । यदि हामीले एउटै जिम्मेवारीको मात्र कुरा गर्यौँ भने हामी एकपक्षीय भएर गलत बाटोतिर लागेको हुनछौँ । र यदि हामीले प्रजातन्त्र प्राप्तिमा मात्र जोड दियौँ भने राष्ट्रिय संकटको निवारणमा हाम्रो योगदान रहँदैन । त्यति मात्र हैन, यस्तो एकपक्षीय कार्यले हामी विदेशीको चालमा पर्ने खण्डमा हुन्छौंँ । यस्तै यदि हामीले केवल राष्ट्रियताको मात्र चर्चा गर्यौँ भने १६ वर्षको खोक्रो राष्ट्रियताको नाराबाजीमा लाग्छौँ र अधिनायकवादीको पक्षधर हुन पुग्छौँ । यस्तो खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने आन्तरिक मनोबल देशवासीमा पैदा गर्न सक्दैन । त्यसो हुनाले हामीले यो कुरा बुझ्नु परेको छ कि राष्ट्रिय एकता प्रजातन्त्रको जगेर्नाबाट मात्र खडा हुनसक्छ र प्रजातन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुनसक्छ । तसर्थ हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र र बिकास उन्नति एकअर्कामा आधारित तत्व हुन् ।

नेपाली कांग्रेसले आफ्नो जन्मकालदेखि नै बेलाबेलामा देशहितका लागि ऐतिहासिक र गम्भीर निर्णय लिएको सबैलाई थाहा छ । २००७ सालमा क्रान्तिको निर्णय र त्यसको कार्यान्वयन । त्यसपछि आमचुनावलाई सदाको लागि स्थगित गर्ने बुझेर चुनाव गराउने राष्ट्रिय अभियानको नेतृत्व यसले लियो । त्यस आन्दोलनमा अरु धेरै दलहरुको पनि सहयोग हामीलाई प्राप्त भएको थियो । २०१७ सालमा प्रजातन्त्रको पक्षमा संघर्ष  गर्यो र आज देशउपरको ( राष्ट्रियताको) खतरा बुझेर हामीले यो अर्को ऐतिहासिक (राष्ट्रिय मेलमिलाप) निर्णय लिएका छौँ । जुन निर्णय नेपाली कांग्रेसको परम्परा अनुरुप छ ।

प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ जब यसका बासिन्दाले आफ्नो ज्यान समेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ । हामीलाई लाग्छ आज नेपालमा त्यो घडी आएको छ । हाम्रा सुभचिन्तकहरुले हाम्रो नेपाल फर्किने इरादामा निहित खतरालाई ध्यानमा राखेर नफर्कने सल्लाह दिएकोमा उनीहरुलाई हाम्रो यो भन्नु छ कि हामीमाथिको यो सम्भावित व्यक्तिगत खतरा राष्ट्रको अस्तित्वको खताराको सामु नगण्य भन्ठानेर नै ऐतिहासिक निर्णय हामीले लिएका हौँ । नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी निर्देशनअनुसार देश फर्केर अपूर्व साहस, देशप्रेमका उदाहरण प्रस्तुत गरेका छन् ।

यस राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सुत्रमा बाँधिनुपर्छ । राष्ट्र रहेन भने हामी रहन्नौँ भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ । मलाई थाहा छैन देशभित्र फर्केर गएपछि म कुन परिस्थितिमा हुनेछु । यस वक्तव्यद्वारा नेपाली कांग्रेसको अध्यक्षको हैसियतले सारा देशवासीलाई अपिल गर्न चाहान्छु कि राष्ट्रको रक्षा देशको उन्नति, जनताको सुख र समृद्धिको पुनीत कार्यमा सबै एकमत भएर लागौँ । मैले अवसर पाएको खण्डमा महाराजधिराज समक्ष पनि आफूलाई लागेका कुरा राख्नेछु । राष्ट्रलाई बचाउने जिम्मेवारी सबैको जिम्मेवारी हो । जय नेपाल ।

विश्वेश्वरप्रसाद कोइराला
अध्यक्ष, नेपाली कांग्रेस
२०३३ पुस १६

प्रकाशित मिति: ६ श्रावण २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्