सातौँ ‘मेड इन नेपाल’ एक्स्पो शुरु


 


काठमाडौँ, ११ असोज

ललितपुरमा हिजो देखि ‘मेड इन नेपाल एक्स्पो’को सातौँ संस्करण शुरु भएको छ । दुई दिनसम्म चल्ने एक्स्पोको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरे ।

मन्त्री यादवले एक्स्पोले ‘नेपालमा सियो पनि बन्दैन’ भन्नेका लागि गतिलो जवाफ दिएको बताए । युवाहरुले आफ्नै लगानीमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण एक्स्पोमार्फत प्रस्तुत गरेको उनको भनाइ थियो ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र उत्साही बनाउन मन्त्रालयले काम गर्दै आएको भन्दै उनले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने बताए । मन्त्री यादवले भने, “युवा उद्यमीलाई प्रोत्साहन गर्न सरकार तयार छ, गरी पनि रहेको छ, गर्ने तपाईंले नै हो सरकारले सहजीकरण गर्छ ।

देशमा व्यवसाय गर्ने वातावरण छैन भन्ने कहीँकतै सुनिन्छ तर युवाहरुले आफैँले केही गर्न सकिन्छ भनेर लाग्नुभएको छ । सरकारले उनको आँट र हिम्मतलाई सम्मान गर्छ र हौसला दिन्छ ।” उनले कतिपय युवा उद्यमीले स्वदेशी उत्पादन निर्यात पनि गरिरहनु भएको छ । निर्यातमा देखिएका समस्या समाधान र सहजीकरण गर्न पनि सरकार तयार रहेको मन्त्री यादवको भनाइ थियो ।

युवा उद्यमी मञ्चका अध्यक्ष निकोलश पाण्डेले स्वदेशमै उद्यम गरिरहेका र बजारको पहुँच नपाएका उद्यमीलाई अवसर उपलब्ध गराउने उद्देश्यले मेलाको आयोजना गरिएको बताए । युवाले स्वदेशमा अवसर नपाएको भन्दै विदेशीने मोह बढिरहेको अवस्थामा युवा उद्यमीलाई उद्यम गर्न थप प्रोत्साहन होस् भनेर पनि एक्स्पोको आयोजना गरिएको अध्यक्ष पाण्डेको भनाइ छ ।

उनले सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउने र प्रमाणपत्र राखेर बिनाधितो ऋण लिन पाउने व्यवस्थालाई सहज बनाइदिए धेरै युवा उद्यमी बन्नसक्ने बताए । प्रदर्शनीमा नेपालमा उत्पादित कपडा, मूर्ति, विभिन्न जडीबुटी, अर्गानिक तरकारी, पश्मिना, अचार, महलगायत विभिन्न कम्पनीका उत्पादन गरी सयवटा प्रदर्शनी कक्ष रहेको छ

प्रकाशित मिति: ११ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्