चिनियाँ राष्ट्रपतिको भ्रमणले ‘प्रदेश १ ले सबैभन्दा बढी फाइदा लिन्छ’ मुख्यमन्त्री राई (अन्तर्वार्ता)


 


विराटनगर, २५ असोज
दुई दिने नेपाल भ्रमणमा आउन लाग्नु भएका चिनियाँ राष्ट्रपति सि जिङपिङको भ्रमणले सबैभन्दा बढी १ नम्बर प्रदेशलाई लाभ पुग्ने प्रदेश सरकारले दाबी गरेको छ । प्रदेश १ मुख्यमन्त्री शेरधन राईले विशेष कुराकानीका बसन्दर्भमा यस पटक किमाथांका–जोगवनी नाका प्राथमिक एजेण्डा बनेको भन्दै त्यसले अन्य प्रदेशलाई भन्दा १ नम्बर प्रदेशलाई धेरै फाइदा पुग्ने बताउनु भएको हो ।

‘दीर्घकालिन हिसावले सबैभन्दा ठूलो लाभ प्रदेश नं. १ ले लिँदैछ । किमाथांका नाकाको सडक निर्माणाधिन अवस्थामा छ । यो नाका खोल्ने विषय औपचारिक रुपमा प्राथमिक एजेण्डाभित्रै यस पटक राखिएको छ । यदि त्यो नाका खोलिने हो भने त्यो लाइफ लाइन सडकको रुपमा सावित हुनेछ,’ राईले भन्नुभयो, ‘जुन नाकाले प्रत्यक्षरुपमा भारत र चिनलाई पनि जोड्नेछ र मेरुदण्डमा प्रदेश १ रहनेछ ।’ मुख्यमन्त्री राईले कृषि, उद्योग, पर्यटन, जलस्रोत क्षेत्रमा १ नम्बर प्रदेशमा लगानीको प्रशस्त सम्भावना रहेको बताउँदै त्यस सम्भावनाहरुप्रति चिनियाहरुको ध्यानाकर्षण भएको दाबी पनि गर्नुभयो ।

यस्तै मुख्यमन्त्री राईले प्रदेश १ को तर्फबाट थुप्रै योजनाहरु छलपलका लागि प्रस्ताव बनुन् भनेर ठोस गरी पठाएको पनि जानकारी दिनुभयो । उहाँले वृहत विराट क्षेत्रको अवधारणा, चक्रपथ ४ लेनको बनाउने, औद्योगिक पार्क निर्माण गर्ने, कृषिमा नमूना आधुनिक फम संचालन गर्ने, अन्तराष्ट्रिय विमानस्थल विराटनगरमा बनाउने, केचना–सथरमाथा फाष्ट ट्रयाकबाट जोड्ने, ट्रंक लाइनबाट खानेपानी वितरण गर्ने कुरा आफूहरुको एजेण्डा रहेको दाबी पनि गनुभयो ।
२३ वर्षपछि चिनिया राष्ट्रपतिको भ्रमण नेपालमा औपचारिक रुपमा हुन गइरहेको भन्दै उहाँले त्यसको अधिकतम लाभ लिन सरकारलाई आफूहरुले सुझाव दिएको पनि बताउनु भयो । ‘यो भ्रमणले धेरै ठूलो महत्व र अर्थ राख्दछ, नेपाल राजनीतिक अस्थिरताबाट मुक्त भएको, लामो राजनीतिक अन्यौलताको अन्त्य भएको र देश विकास र समृद्धितर्फ उन्मुख भएको अवसरमा भ्रमण भएको छ,’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘यसलाई नेपालको हित र लाभमा अधिकतम हामीले उपयोग गर्नु सक्नुपर्दछ छ, त्यसै हिसावे सरकारले तयारी गरेको छ र हामीले पनि प्रदेशको तर्फबाट त्यही ढंगले सुझाव दिएका छौं ।’

सिजिङपिङको भ्रमणलाई कतिपयले सतही र हल्का ढंगले टिप्पणी गरेको भन्दै उहाँले त्यसप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । ‘कतिपयले सतही र हल्का ढंगले जुन खालको टिप्पणीहरु व्यक्त गरिरहेका छन्, त्यो कुरा गलत हो । निश्चय नै नेपालमा कम्युनिष्ट पार्टी सरकारमा छ । कम्युनिष्ट पार्टीलाई प्रोत्साहित गर्ने, प्रेरित गर्ने कुरा अवश्य नै हुन्छ, तर यसको तात्पर्य भनेको नेपालको कम्युनिष्ट पार्टी चिनिया कम्युनिष्ट पार्टीको भातृ संगठनको रुपमा रहेको छ, त्यस रुपमा बुझ्नुपर्छ भन्ने कुरा विल्कुलै गलत र निराधार तर्क र सतही टिप्पणी हो,’ उहाँले भन्नुभयो, ‘यस्तो ऐतिहासिक बेलामा आम जनता उत्साहित बनिरहेको अवस्थामा, यो भ्रमणबाट हामीले अधिकतम लाभ लिनु सक्नुपर्दछ भनेर सबै एक मतका साथ अगाडि बढ्नुपर्ने बेलामा यस्ता प्रकारका टिप्पणी गरेर भ्रम फैलाउन खोज्नु भनेको देशलाई घात गर्नु हो ।’

२३ वर्षपछि नेपालमा चिनिया राष्ट्रपतिको औपचारिक भ्रमण हुँदैछ । यसको ऐतिहासिक महत्व के रहन्छ र नेपालले कसरी लाभ लिन सक्छ ?
अहिले नेपालमा स्थिर र बलियो खालको सरकार बनेको अवस्थामा जुन सरकारको नेतृत्व कम्युनिष्ट पार्टीले गरिराखेको छ । अहिले संसारमा नै कम विकसित मुलुकमा त्यस्तो मुलुक नेपाल नै हो जुन मुलुकमा लगानीका क्षेत्र र सम्भावनाहरु प्रसस्त छन् । र क्रमशः नेपाल समग्र विकास समृद्धि र समग्र पक्षमा सुधारउन्मुख भइरहेको देशमा पर्दछ । यस हिसावले पनि चिनिया राष्ट्रपतिको भ्रमण धेरै अर्थमा ऐतिहासिक सावित हुनेछ । २३ वर्षपछि चिनिया राष्ट्रपतिको भ्रमण नेपालमा औपचारिक रुपमा भइरहेको छ । यसले धेरै ठूलो महत्व र अर्थ राख्दछ ।

कतिपय विश्लेषकहरुले चिनले नेपालमा आफ्नो प्रभाव बढाउन खोजको र हस्तक्षेप गर्न खोजेको अर्थमा पनि विचारहरु व्यक्त गरिरहेका छन् यसलाई कसरी लिनुहुन्छ ?
विभिन्न मानेमा यो भ्रमणलाई मानिसहरुले बुझ्न सक्छन्, विश्लेषण गर्नसक्छन् र जोड्न सक्छन् । तर, कुनै पनि हिसावले न हस्तक्षेप जोडिन्छ, न स्वार्थसँग जोडिन्छ । यसभन्दा अगाडि नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले चिनको भ्रमण गर्नुभएको छ । त्यस तहमा दुई समकक्षीबीच भेट भएको छ, कुराकानी भएको छ, राष्ट्रपतिज्यूले नेपाल भ्रमणको निम्तो दिनुभयो । त्यस पश्चात प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले चिनको भ्रमण गर्नुभयो, नेपालको समग्र अवस्थाको ब्रिफिङ गर्नुभयो, अपिल गर्नुभयो । त्यसपश्चात चिनले पनि नेपाललाई नजिकबाट हेर्नु बुझ्नु चासो राख्ने स्वभाविक कुरा हो । किनभने लामो समयदेखिको सामाजिक सांस्कृतिक र जनस्तरको सम्बन्ध चिन र नेपालको रहँदै आएको छ यस हिसावले पनि चिनले नेपालप्रति सकारात्मक दृष्टिबाट, सदासयदापूर्ण भावबाट हेर्नु, बुझ्नु र त्यसपछि सहयोग गर्नु, एक आपसमा सहकार्य गर्ने कुरा विल्कुलै स्वभाविक कुरा हो । त्यसमा पनि नेपाल राजनितिक अस्थिरताबाट मुक्त भएको, लामो राजनीतिक अन्यौलताको अन्त्य भएको र देश विकास र समृद्धितर्फ उन्मुख भएको अवसरमा भ्रमण भएको छ, यसलाई नेपालको हित र लाभमा अधिकतम हामीले उपयोग गर्नु सक्नुपर्दछ । त्यसै हिसावे सरकारले तयारी गरेको छ र हामीले पनि प्रदेशको तर्फबाट त्यही ढंगले सुझाव दिएका छौं ।

कतिपयले त चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुलाई यहाँ ल्याएर आफ्ना पार्टीका नेतालाई प्रशिक्षण दिन लगाउने गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीलाई चिनिया कम्युनिष्ट पार्टीको भातृसंगठन वा शाखा पार्टी भन्न थालेका छन्, यो सन्दर्भमा पनि हस्तक्षेपको रुपमा बुझ्न सकिँदैन र ?
यो सतही र हल्का टिप्पणी हो । त्यो कुरा गलत हो । निश्चय नै नेपालमा कम्युनिष्ट पार्टी सरकारमा छ । कम्युनिष्ट पार्टीलाई प्रोत्साहित गर्ने, प्रेरित गर्ने कुरा अवश्य नै हुन्छ । तर, यसको तात्पर्य भनेको नेपालको कम्युनिष्ट पार्टी चिनिया कम्युनिष्ट पार्टीको भातृ संगठनको रुपमा रहेको छ, त्यस रुपमा बुझ्नुपर्छ भन्ने कुरा विल्कुलै गलत र निराधार तर्क र सतही टिप्पणी हो । किनभने पहिलो पटक नेपालको जनताको मतबाट वैधानिक ढंगले, विधि पूर्वक अनुमोदित भएर तीनवटा तहमा कम्युनिष्ट पार्टीले नेतृत्व गरिरहेको छ । यस्तो ऐतिहासिक बेलामा आम जनता उत्साहित बनिरहेको अवस्थामा, यो भ्रमणबाट हामीले अधिकतम लाभ लिनु सक्नुपर्दछ भनेर सबै एक मतका साथ अगाडि बढ्नुपर्ने बेलामा यस्ता प्रकारका टिप्पणी गरेर भ्रम फैलाउन खोज्नु भनेको देशलाई घात गर्नु हो ।

प्रसंग बदलौं, चिनिया राष्ट्रपतिको भ्रमणबाट प्रदेश १ लाई चाहिं दीर्घकालिन के फाइदा हुन्छ ?
यो भ्रमणबाट दीर्घकालिन हिसावले सबैभन्दा ठूलो लाभ प्रदेश नं. १ ले लिँदैछ । किमाथांका नाकाको सडक निर्माणाधिन अवस्थामा छ । यो नाका खोल्ने विषय औपचारिक रुपमा प्राथमिक एजेण्डाभित्रै यस पटक राखिएको छ । यदि त्यो नाका खोलिने हो भने त्यो लाइफ लाइन सडकको रुपमा सावित हुनेछ । जुन नाकाले प्रत्यक्षरुपमा भारत र चिनलाई पनि जोड्ने छ । र मेरुदण्डमा प्रदेश १ रहनेछ । दीर्घकालिन हिसावले पहिलो लाभ हामीले लिनेछौं । त्यसपछि दोस्रो, तेस्रो लाभहरु कृषि, उद्योग, पर्यटन, जलस्रोत क्षेत्रमा प्रसस्त सम्भावना १ नम्बर प्रदेशमा छ । त्यस सम्भावनाहरुप्रति चिनियाहरुको ध्यानाकर्षण भएको छ । यसपटक पनि राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यूसँगको भेटघाटमा पनि ति कुराको चर्चा, परिचर्चा हुनेछ । हामी ठोस ढंगबाट योजनाबद्ध ढंगले चिनिया लगानीकर्तासँग औपचारिक रुपमा केही प्रस्तावहरुमाथि छलफल गर्न गइरहेका छौं । यस अर्थमा हामीले यो भ्रमणबाट धेरै लाभ हुनेमा विश्वस्त छौं ।

प्रदेश १ सरकारको तर्फबाट संघीय सरकारलाई केही एजेण्डा प्रस्तावको रुपमा पठाएको भन्ने जानकारीमा आएको छ । ति के–के हुन् ?
हामीले वृहत विराट क्षेत्रको जुन अवधारणा अगाडि सारेका छौं, चक्रपथ ४ लेनको बनाउने कुरा गरेका छौं, औद्योगिक पार्क निर्माण गर्ने तयारी गरेका छौं, कृषिमा नमूना आधुनिक फम संचालन गर्ने, विराटनगर विमानस्थललाई अन्तराष्ट्रियस्तरको बनाउने, केचना–सगरमाथा फाष्ट ट्रयाकबाट जोड्ने, ट्रंक लाइनबाट खानेपानी वितरण गर्ने कुरा हामीले गरेको छौं । यस्तै तमोर या कोशी नदीबाट पानी आपूर्ति गर्ने र पानीको निर्यात गर्ने हिसावले पनि हामीले ठोस योजना तयार गरेका छौं । हाम्रा प्राथमिकतामा रहेका योजनाहरुलाई छलफलमा एजेण्डा बनुन् भन्ने प्रस्ताव हामीले संघीय सरकारलाई गरेका छौं ।

प्रकाशित मिति: २५ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्