प्लाष्टिकरहित नगर अभियानः कपडाको झोला विक्री गर्दै धनगढी उपमहानगरपालिका


 


अंकुश कुँवर
धनगढी, असोज २९
धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रलाई प्लाष्टिकरहित बनाउने योजनाअनुसार आफै झोला सिलाएर विक्री वितरण गर्न सुरु गरेको छ । उपमहानगरपालिकाले पहिलो चरणमा त्रिनगर तरकारी हाटबजारलाई केन्द्रित गरेर प्लाष्टिकका झोला बन्द गर्न सल्लाह दिँदै कपडाको झोला विक्री वितरण गर्न सुरु गरेको हो ।

सुरुवातमा तरकारी हाटबजार व्यवस्थापन समितिलाई पाँच सय झोला उपलब्ध गराएको छ । समिति अन्तर्गत नै उपभोक्तालाई झोला विक्री वितरण गर्ने काम भइरहेको धनगढी उपमहानगरपालिकाको सामुदायिक विकास शाखा प्रमुख टंक विष्टले बताए ।

उनले समितिले उपभोक्तालाई प्रतिझोला २० रुपैयाँमा विक्री गरिरहेको बताए । उनकाअनुसार छातामा प्रयोग हुने बलियो खालको कपडाको झोला बनाएर उपभोक्तालाई विक्री गरिँदैछ ।वातावरणीय रुपमा असर पुग्ने प्लाष्टिकको झोलाको प्रयोगलाई निरुत्साहित गर्न उपमहानगरपालिकाले बलियो खालको झोला उत्पादन गरेको छ । धनगढी उपमहानगपालिकाले आफ्नो छाप अंकित झोला समिति मार्फत उपभोक्तालाई शुलभ मूल्यमा वितरण गरिरहेको छ ।

जसलाई खल्तीमा पनि हालेर हिड्न सकिनेछ । धनगढी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले उपमहानगरपालिकालाई प्रतिझोला झण्डै ६० रुपैयाँ परेपनि उपभोक्ताको सुविधा र प्लाष्टिकको झोलाको प्रयोग कम गराउन २० रुपैयाँ मूल्य राखेर विक्री वितरण गर्न सुरु गरिएको बताए ।

‘हामीले सुरुमा निःशुल्क रुपमा झोला वितरण गर्ने योजना बनाएका थियो,’ उनले भने, ‘तर, उपभोक्ताले निःशुल्क पाएको हो र अझै पाइहालिन्छ भन्ने भावनाको विकास नहोस् भनेर केही मूल्य राखिएको हो ।’

समितिले विहीबार लाग्ने हाटबजारका लागि पनि थप एक हजार झोला मागेको प्रवक्ता मुडभरीले बताए । अहिले पहिलो चरणमा भएकाले प्लाष्टिकको झोला प्रयोग नगर्न भनेर प्रचार प्रसार गर्ने काम पनि भइरहेकाले विस्तारै कपडाको झोलाको माग बढ्ने उनले बताउनुभयो ।

हाटबजारमा पनि पहिलेदेखिनै प्लाष्टिकको झोला विक्री गर्ने व्यापारीहरुलाई पनि अब खरिद नगर्न सुझाव दिइएको छ । रेडक्रशसंगको सहकार्यमा उपमहानगरपालिकाले थाली गरेको ‘प्लाष्टिकरहित नगर’ अभियानलाई विस्तार गर्दै लैजाने योजना उपमहानगरपालिको छ ।

हाटबजार पनि बजार क्षेत्रमा पनि प्लाष्टिकको प्रयोग बन्द गराइने प्रवक्ता मुडभरीले बताए । ‘पहिलो चरणमा हामीले हाटबजारबाट यो अभियान सुरु गरेका छौं,’ उनले भने, ‘अहिले प्रचार प्रसार पनि संगै भइरहेकाले पछि बजार क्षेत्रमा पनि प्लाष्टिकको प्रयोग बन्द गछौं ।’

उनले मंगलबार आफ्नै नेतृत्वमा हाटबजार क्षेत्रमा अनुगमनसमेत गरिएको बताए । धनगढी उपमहानगरपालिकाले गएको शुक्रबारदेखि नै ‘प्लाष्टिकरहित नगर’ अभियान सुरु गरेको होे ।

उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्टसहित जनप्रतिनिधि, कर्मचारी, रेडक्रमकर्मीलगायतको टोलीले हाटबजारका व्यापारी तथा कर्मचारीलाई अभियानबारे जानकारी दिँदै प्लाष्टिकरहित अभियान सुरु भएको घोषणा गरेका थिए ।

सो क्रममा नगरप्रमुख वडले उपमहानगरपालिकाले एक्लैको प्रयासले मात्रै नगरलाई प्लाष्टिकरहित नगर बनाउन नसकिने भएकाले यो अभियानमा सबैले साथ दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति: २९ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्