यस्तो देखियो नेकपाको चियापान: देउवा, उपेन्द्र, चित्रबहादुरदेखि कमल थापासम्म (फोटो फिचर)


 


काठमाडौं, असोज २९

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको दिउँसो १२ बजेदेखि शुरु हुने निर्धारण भएको चियापान कार्यक्रमका लागि सोभन्दाअगावै नेता कार्यकर्ताको आगमन शुरु भइसकेको थियो । प्रवेशद्वारमा पार्टीका विभिन्न नेता एवं सांसदसहितले सहभागीलाई उभिएर स्वागत गरेका थिए भने बनाइएको मञ्चमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेतासँगै रहेर स्वागत गरेका थिए ।

अध्यक्षद्वय ओली र दाहालले आरम्भमै सम्बोधन गरी शुभकामना दिँदै विकास र समृद्धिको यात्रामा सामेल हुन सबैमा आग्रह गरे भने त्यसपश्चात् निरन्तर गीत÷सङ्गीत प्रस्तुत भएको थियो । अध्यक्ष प्रचण्ड कार्यक्रमबाट केही अगाडि बाहिरिएका थिए भने अध्यक्ष ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङलगायत साँझ करीब ५ बजेसम्मै रहेका थिए ।

खचाखच उपस्थिति रहेको कार्यक्रममा मञ्चको पछाडिको चौरमा शुभकामनाको ब्यानरसहित नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र जननेता मदन भण्डारीको ठूलो तस्वीर राखिएको थियो, जहाँ पुगेर तस्वीर खिचाउनेको पनि भीड देखिएको थियो । ठाउँठाउँमा पार्टी अध्यक्षद्वय ओली र प्रचण्डको तस्वीर अङ्कित होडिङ बोर्ड र कम्युनिष्टको अन्तर्राष्ट्रिय चिह्न हँसिया हथौडा र नेकपाको चनाव चिह्न सूर्यमा पनि तस्वीर खिचिएको थियो ।

कलाकार अशोक राई, माधव प्रधान लगायतले निरन्तर स्वर पस्किरहेका थिए भने पञ्चेबाजासहित महिलाको विशेष प्रस्तुति गरिएको थियो । चियापनमा सहभागी हुनेलाई खजुरी, निमकिन, मिठाइ र केराले खुवाइएको थियो । कार्यक्रममा भित्र प्रवेश गर्न र बाहिर निस्कन फरक–फरक द्वारको व्यवस्था गरिएको थियो । कार्यक्रममा काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, सङ्घीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा माओवादी (क्रान्तिकारी) का नेता सिपी गजुरेल, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारी, साहित्यकार, कलाकार, पत्रकार र सर्वसाधारणको उपस्थिति थियो ।

चियापानकै मौका पारेर कम्युनिष्ट आन्दोलन र विभिन्न विषयसँग सम्बन्धित पुस्तक पनि बिक्री वितरण गरिएको थियो । माओत्सेतुङ, पुष्पलाल, मदन भण्डारी, मोदनाथ प्रश्रितलगायतका पुस्तक सजाइएको थियो । पुस्तक मात्र होइन अल्लोको कपडासमेत बिक्री वितरणका लागि राखिएको थियो । कोट, टोपी, जुहारीलगायतका कपडासमेत नेता कार्यकर्ताले किनेका थिए ।

विशिष्ट पाहुनालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेता वामदेव गौतम, महासचिव विष्णुप्रसाद पौडेल, प्रवक्ता नारायाणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति: २९ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्