रिङ रोड बनाउने बजेट फ्रिज भएपछि स्थानीय आक्रोसित


 


सङ्खुवासभा, भाद्र १ । जिल्लाको उत्तरी क्षेत्रको रिङ रोड बनाउने बजेट फ्रिज भएपछि स्थानीय आक्रोशित बनेका छन् । सडक डिभिजन कार्यालय प्रमुख कृष्ण ओझाको लापरबाहिका कारण त्यस क्षेत्रमा निर्माण हुने सडक निर्माणको लागि छुटिएको पाँच करोड बजेट फ्रिज भएको भन्दै बाला, शिसुवाखोला र ताम्कु गाविसका नागरिकहरु आक्रोसित बनेका हुन् ।

आफुहरुको क्षेत्रमा परेको बजेट फ्रिज भएको भन्दै प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको रोहवरमा जिल्ला प्रसासन कार्यालयमा सडक डिभिजन कार्यालय प्रमुख ओझाको उपस्थितीमा हिजो बैठकको आयोजना समेत गरेका थिए । छलफल बैठकमा सहभागी सरोकारवालाहरुले आफुहरुको क्षेत्रको विकासका लागि छुटिएको बजेट फर्किएर जानु दुखद् रहेको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य समक्ष गुनासो पोखेका थिए ।

सङ्खुवासभाको विकट मानिएको अरुण पारिका पाँच गाविसहरुलाई जोड्ने सडक निर्माणमा सडक डिभिजन कार्यालयका प्रमुख नै बाधक बनेको नेकपा एमालेका जिल्ला सदस्य समेत रहनुभएको बाला २ का दुर्गाकिरण राईले गुनासो राख्नुभयो । सडक निर्माण कार्य तत्काल सुरु गर्न आफुहरु पटक पटक सडक डिभिजन कार्यालय पुग्दा पनि डिभिजन प्रमुखले चासो नदिएको उहाँको आरोप छ ।

अरुण पारिका गाविसहरुलाई जोड्न निर्माण भईरहेको रिङ रोड अन्तर्गतको सडकबाटै पुनः काम सुरु गर्नु पर्ने आफुहरुले माग राख्दाराख्दै अरु विकल्पहरु देखाएर काम अल्झाएपछि बजेट फ्रिज भएको बाला ८ का अदलकुमार कुलुङले आरोप लगाउनुभयो । ‘हाल त्यस क्षेत्रमा जाने सडक खण्ड अन्तर्गत डुम्मा भिरमाबाटो खन्ने काम हुँदै छ, कुलुङले भन्नुभयो, ‘त्यहिबाट उक्त बजेटले क्रमस बाटो खन्न थालौँ भनेका हौँ, तर उहाँले अरुनै कुरा गरेर आलटाल गर्नुभयो ।’

उक्त छलफल बैठकमा उपस्थित नेपाली कांग्रेस सङ्खुवासभाका दीपनकुमार श्रेष्ठले पनि सडक डिभिजन प्रमुखकै कारण बजेट फर्किएको बताउनुभयो । डिभिजन प्रमुखले आफ्नो स्वार्थ जोडेर विकास निर्माणमा बाधा हाल्न नहुने भनाई राख्दै जति सक्दो उक्त निर्माण कार्यलाई अगाडी बढाउन उहाँले अनुरोध गर्नुभयो ।

डिभिजन प्रमुख नै कमिसनको खेलमा लागेको स्थानीय स्तरबाट आरोप आईरहेकोले यस्तो कुरामा कार्यालय प्रमुख मुछिनु राम्रो नहुने श्रेष्ठको भनाई थियो ।
सडक डिभिजन कार्यालय प्रमुख ओझाले भने सांसद तारामान गुरुङले बाला १ बुधबारेबाट सडक खन्न सुरु गर्नु पर्ने भनेकोले ठेकेदारलाई काम सुरु गराउन नसकिएको बताउनुभयो । जुन बुधबारेमा कतैबाट पनि सडक सञ्जाल पुगेको छैन । उक्त तोकिएको ठाउँबाट सडक खन्न सुरु गर्नको लागि डोजर लगायतका उपकरणहरु पुराउन असम्भब रहेकोले सडक खन्न नसकिएको डिभिजन प्रमुख ओझाको भनाई थियो ।

तर, सांसद गुरुङले भने काम जहाँबाट सम्भब हुन्छ तत्काल सुरु गर्न पटक पटक अनुरोध गरेको बताउनुभयो । जसरी भएपनि अरुणपारिका बस्तीहरुमा सडक सञ्जाल पुग्नु पर्छ भनेर तुरुन्त काम थाल्न ताकिता गरेपनि सुरु हुन नसक्नु दुखद रहेको सांसद गुरुङको भनाई छ ।

उक्त सडक निर्माण कार्य ठेक्का प्रकृयामा पुगिसकेकोले पुन बजेट आउने र तत्काल काम सुरु गर्ने डिभिजन प्रमुख ओझाले प्रतिबद्धता ब्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले पनि तत्काल सडक निर्माण कार्यलाई अगाडी बढाउन निर्देशन दिनुभयो । विकास निर्माणमा कसैले आफ्नो स्वार्थ नहेरी सबैले आ–आफ्नो ठाउँबाट सकरात्मक भएर लाग्नु पर्ने प्रजिअ आचार्यको भनाई थियो ।

प्रकाशित मिति: १ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्