चितवनमा सुनाए खलपात्रले कविता


 


khalpatraभरतपुर, (चितवन) भदाै ६

कर्मी नाट्य समूह तथा अराजक अक्षर समूह भरतपुर, चितवनले नगरमा थिएटर निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले एकल कविता वाचन, नाटक मञ्चन लगायतका विविध सिर्जनात्मक कार्यक्रमको आयोजना गरिरहेको छ । यसै सिलसिलामा चितवनमा शनिबार कवि मुकुन्द खलपात्रको एकल कविता वाचन कार्यक्रमको आयोजना गरियो ।

कुनै समय गलत साथीसङ्गतले गर्दा लागूऔषधको दुव्यर्सनी बन्न पुगेका तर कालान्तरमा कविता तथा नाट्य कर्ममा समाहित भएका उनले आफ्ना जीवनका अनेकन मोडमा घटित घटनाहरुलाई विषयवस्तु बनाएर रचना गरिएका आमा, नमस्ते सर, अर्धनग्न सगरमाथा, बिकिलिक्स विहंगम, पोस्टमार्टम पृथ्वी, पशुपति कोलाज लगायत करिब दुई दर्जन कविता सुनाए । उनको कविता सुन्न चितवनका चर्चित कविहरु प्रेमविनोद नन्दन, गोविन्दराज विनोदी, सरिता तिवारी, रोशन दाहाल, गणेश श्रवणसहित कविता अनुरागीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

खलपात्रका वाचित कवितामाथि बोल्दै प्रसिद्ध कवि तथा गीतकार प्रेमविनोद नन्दनले कवि खलपात्रका कविताहरुले भूपी शेरचनलाई स्मरण गराएको बताए भने मदन पुरस्कारका लागि मनोनित कविताकृति ‘प्रश्नहरुको कारखाना’की स्रष्टा कवि सरिता तिवारीले मुकुन्द खलपात्र प्रयोगधर्मी कवि भएको उल्लेख गर्दै ‘उनका कविताहरु काव्यिक गुणवत्ताले भरिपूर्ण’ रहेको दावी गरिन् ।

कार्यक्रमको प्रायोजन जस्मिन पेन्ट्स र सहप्रायोजन मनकामना हार्डवेयरले गरेका थिए । दुई महिनाअघि काठमाडौँमा एकल वाचन गरेका खलपात्रको गृहनगरमा यो दोस्रो कार्यक्रम भएको कार्यक्रम संयोजक अन्जान ढुङ्गानाले बताए । संयोजक ढुङ्गानाका अनुसार थिएटर निर्माणका लागि आर्थिक सहयोग जुटाउन यसप्रकारका कार्यक्रमलाई देशव्यापी रुपमा सञ्चालन गर्ने उद्देश्य राखिएको छ ।

प्रकाशित मिति: ६ भाद्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्