यी हुन् कांग्रेसबाट मन्त्री बन्ने अनुहार


 


काठमाडाैं, भदाै ६

मंगलबार कांग्रेसले मन्त्रीको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने अन्तिम तयारी गरेकाे छ । मंगलबार अपरान्हसम्म सपथ ग्रहण गराउने गरी मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाउने तयारी भएको कांगेसले जनाएकाे छ। जसका लागि सभापति शेरबहादुर देउवाले रामचन्द्र पाैडेलसँग छलफल अगाडी बढाएका छन् ।

पाैडेलसँगकाे छलफलसँगै सरकारमा सहभागी हुने सबै मन्त्रीको सूची मंगलबार पठाउने कांग्रेसले जनाएकाे छ । यसअघि पहिलो पटक मन्त्रिपरिषद विस्तार गर्दा सभापति देउवाले पार्टीका तर्फबाट उपप्रधान तथा गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक योजना तथा यातायात मन्त्रीमा रमेश लेखकलाई सरकारमा पठाएका थिए।

सभापति देउवाले आफ्नो प्यानलबाट महामन्त्रीमा चुनाव लडेका अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरु डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, जीवनबहादुर शाही, अम्बिका बस्नेत र फर्मुल्लाह मन्सुरकाे नाम लगभग टुंगो लगाएका छन्। स्रोतका अनुसार फरमुल्लाह मन्सुरलाई सिँचाइ, जीवनबहादुर शाहीलाई वन र भीष्मराज आङ्दम्बेलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइनेछ।

गृह मन्त्रालय नपाए सरकारमा नजाने भनेर पहिलो पटक मन्त्रिपरिषद विस्तार गर्दा नगएका अर्जुनरसिंह केसीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइनेछ भने खाँणलाई रक्षा मन्त्रालयको जिम्मा दिइने भएकाे छ । पौडेल पक्षले कोषाध्यक्ष सीतादेवी यादव वा किरण यादवमध्ये एकलाई सरकारमा पठाउने तयारी गरेको छ। यस्तै पौडेल पक्षबाट नवीन्द्रराज जोशी, दिपक गिरी र कमला पन्त मन्त्री बन्ने लगभग पक्का छ।

कृष्णप्रसाद सिटौला पक्षबाट सुधिर सिवाकोटी मन्त्री बन्ने लगभग पक्का भएको छ। देउवाले मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाए मंगलबार नै मन्त्रिपरिषद विस्तार हुनेछ । देउवाले प्रधानमन्त्री प्रचण्डलाई आफू बुधवार सिंगापुर जान लागेकाले मंगलबार मन्त्रीको सूची दिने बताएको स्रोतले जनाएको छ।

प्रकाशित मिति: ६ भाद्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्