त्यो षडयन्त्र नभएको भए ओलीपछि नारायणकाजी पूर्वमाओवादीबाट निर्विकल्प प्रधानमन्त्री चुनिने थिए


 


त्यो षडयन्त्रको असर

नेपालीहरुको चाँडै बिर्सने बानी छ, त्यसैले हामीले धेरै दुःख पाएका छौं । बिर्सिइन लागेको एउटा राजनीतिक षडयन्त्रले कुनै पनि बेला असर देखाउने लक्षण भएपछि यो लेख्दैछु ।

धैरैलाई थाहा छ, तत्कालीन माओवादीमा असल नेता कोही छन् भने ती नारायणकाजी श्रेष्ठ हुन् । तर यिनी न कार्यकर्ता पाल्नेगरि पैसा कमाउनमा रुची राख्छन् न त भारत वा चीन कतैतिर ढल्केर भए पनि आफू प्रधानमन्त्री वा सभामुख जस्ता महत्वपूर्ण पदमा बस्नुपर्छ भन्ने महत्वकांक्षा राख्छन् । यिनको क्षमता बुझेका बौद्धिक व्यक्ति मात्र होइन, विपरित दलका नेताहरुसमेत यिनलाई देश चलाउन सक्ने नेताका रुपमा चिन्छन् र सम्मान गर्छन् ।

षडयन्त्रको कुरा

गएको निर्वाचनमा नारायणकाजी श्रेष्ठले आफ्नो गृहजिल्ला गोरखाबाट निर्वाचन लड्ने इच्छा राखे । यो त्यही क्षेत्र थियो, जहाँ कुनैबेला माओवादीमैं रहेका डा.बाबुराम भट्टराईको ठूलो प्रभाव थियो र छ ।

माओवादी नेतृत्वले नारायणकाजीको यो रहरलाई डा. भट्टराई प्रति रिष साँध्ने अवसर बनाउन चाहन्थ्यो । एमालेसँगको सहकार्यका कारण डा. भट्टराइको अवस्था कमजोर थियो नै, त्यो भन्दा पनि ठूलो कुरा, उनको नयाँ पार्टी थियो । त्यसैले डा. भट्टराईले यो निर्वाचन हार्छन् भन्ने विश्लेषण हुँदै थियो ।

तर निर्वाचन नजिकिँदै जाँदा अवस्था उल्टिँदै गयो । चितवनमा प्रचण्ड कमजोर देखिन थाले र गोर्खामा नारायणकाजी बलियो भएको संकेत मिल्न थाल्यो । चितवनमा प्रचण्ड हार्ने र गोरखामा नारायणकाजीले निर्वाचन जित्ने हो भने अहिलेसम्म शिखरमा रहेका प्रचण्डको के हविगत हुन्छ ? १२ बुँदेमार्फत प्रचण्डलाई शक्तिमा ल्याउने राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिलाई चिन्ता लाग्नु स्वभाविक थियो ।

रातारात ‘ठूलो खर्च गरेर‘ चितवनमा कांग्रेसको केही मत प्रचण्डलाई हाल्न लगाउने र गोर्खामा निर्वाचन लडिरहेका डा. भट्टराईलाई कांग्रेसले सघाउने निर्णय गरियो । यसका लागि अनेक खेल भए । यहि कारण गोर्खामा नारायणकाजी हारे, चितवनमा कांग्रेसको ‘पनि‘ मत पाएर प्रचण्डले निर्वाचन जिते।

अहिले आएर यो कुरा किन ?

केपी शर्मा ओली हामी सबैका प्रधानमन्त्री हुन् । केही स्वार्थी बाहेक सबै नेपाली उनी स्वस्थ भएर पूर्णकालीन प्रधानमन्त्री बनून् भन्ने चाहन्छन् । तर परिस्थिति ठिक उल्टो छ । उनी विरामी छन् । उनको स्वास्थका कारण देश पनि विग्रेको गाडी जस्तो चलिरहेको छ ।

यस्तो अवस्थामा नारायणकाजीले निर्वाचन जितेका र प्रचण्डले निर्वाचन हारेका भए निर्वाचनअघि माओवादी र एमालेले आधा आधा प्रधानमन्त्री चलाउने कुरा केपी शर्मा ओलीलाई मान्य हुन्थ्यो । केही महिनाअघि नै नारायणकाजी प्रधानमन्त्री भइसक्ने थिए । मानौं, ओलीमा अहिले जस्तै प्रधानमन्त्री भइरहने इच्छा हुन्थ्यो भने पनि उनको स्वास्थ विग्रदै गएको अवस्थामा प्रधानमन्त्री फेर्दा नारायणकाजी माओवादीबाट निर्विकल्प प्रधानमन्त्री चुनिने थिए । किनभने महरा अहिले राजनीतिक सतहमा छैनन् ।

प्रचण्ड आफू कसरी सधैं शक्तिमा रहने भन्ने कुरामा कति अघि छन् भन्ने कुरा अहिले सतहमा आएका घटनाबाट प्रष्ट हुन्छ । यो कुरा बुझेका केपी ओलीले अनेक गरेर प्रचण्डलाई पन्साउन चाहिरहेका छन् तर स्वास्थले उनलाई साथ दिइरहेको छैन ।

प्रचण्ड र उनका मानिसको मुहारको मुस्कान र सक्रियता देख्दा म पूर्व एमालेका ठूला भनिने गरेका लाचार नेताहरुको अनुहार सम्झिरहेको छु । मेरो आँखा माधवकुमार नेपाल जस्ता नेताले के पाइला चाल्छन् भन्नेमा छ ।

(साहित्यकार तथा लेखक अश्विनी कोइरालाको फेसबुकबाट साभार, यो उनको व्यक्तिगत विश्लेषण हो ।)

प्रकाशित मिति: १२ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्