नेपाली नागरिकता लिने भारतीय पक्राउ


 


सर्लाही, सप्तरी, पुस ११
भारतको सीतामढी घर भएका २० वर्षीय सीताराम सिंह नेपाली नागरिकताको प्रमाणपत्रसहित पक्राउ परेका छन् । झूटो विवरण पेस गरेर नागरिकता लिएका उनी सर्लाहीको बरहथवास्थित मामा घरबाट पक्राउ परेका हुन् ।इलाका प्रशासन कार्यालय बरहथवाबाट नागरिकता दिलाउने बरहथवा नगरपालिका–२ का गिर्जबहादुर भण्डारी र साक्षी बसेका ५ जना फरार छन् ।

भण्डारीले भारतमा बिहे गरेकी बहिनीको छोरा सिंहलाई आनै छोरा बनाएर नागरिकता दिलाएको प्रशासनले जनाएको छ । सिंहले यही पुस ३ गते नीरज भण्डारीका नाममा नेपाली नागरिकता लिएका हुन् । सिंह पक्राउ पर्नासाथ फरार रहेका भण्डारी र साक्षीहरूलाई खोजिरहेको प्रहरीले जनाएको छ ।

भण्डारीले माइलो छोरो भनेर वडाबाट सिफारिस लिएका थिए । सशस्त्र द्वन्द्वकालमा जन्मदर्तालगायतका कागजात जलेको र भण्डारीले ल्याएको कागजातमा स्थानीय ५ जनालाई साक्षी राखेर जन्म प्रमाणित गरिदिएको हुनाले सिफारिस गरेको वडाध्यक्ष यज्ञबहादुर खड्काले बताए । ‘भान्जालाई नागरिकता दिलाएपछि भोज खुवाएको सुनें । त्यसपछि शंका लागेर सिंहलाई पक्रेर मैले नै प्रहरीमा बुझाएको हुँ,’ उनले भने ।

नागरिकता ऐन, ०६३ अनुसार कुनै विदेशीले झूटो विवरण दिएर नेपाली नागरिकता लिए १ देखि ५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ । त्यस्तो नागरिकता रद्द हुन्छ । यस्तो नागरिकता दिलाउन सनाखत, सिफारिस गर्नेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ देखि ५० हजार रुपैयाँसम्म वा दुवै सजाय हुने ऐनमा व्यवस्था छ । कर्मचारीलाई भने विभागीय कारबाही हुन्छ ।

पक्राउ गर्न पत्राचार
जिल्ला प्रशासन कार्यालय सप्तरीले झूटो विवरण पेस गरी नागरिकता लिएका सिल्टु अली र उनको बुबा बनेका सैकत अलीलाई पक्राउ गरी पेस गर्न मंगलबार जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ । भारतीय नागरिक सिल्टुले गत पुस ३ गते जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएका हुन् । राजविराज नगरपालिका–६ घर भएका सैकतको छोरा भई सिल्टुले नागरिकता लिएका हुन् । सिल्टु सैकतका साढुभाइका छोरा भएको खुलेको छ ।

राजविराज–६ का वडाध्यक्ष प्रेम यादवको सिफारिससहित नागरिकता प्रमाणपत्रको फारम भरी सिल्टु जिल्ला प्रशासन पुगेपछि प्रहरीले सर्जमिन गरी ल्याउन तोक लगाएको थियो । सोही तोकका आधारमा वडाप्रहरी कार्यालय राजविराजका प्रहरी नायब निरीक्षक प्रदीपशंकर प्रसादले जिल्ला प्रशासन कार्यालयलाई पुस ३ गते सर्जमिन मुचुल्का पठाउँदै सिल्टु सैकतकै छोरा भएको बताएका थिए । सर्जमिन मुचुल्कामा वडाध्यक्ष यादव रोहबरमा बसेका छन् भने स्थानीयहरू इमताज अहमद, असरुद्धिन अन्सारी, जहाँगिर शेख र हबिब अन्सारीले हस्ताक्षर गरेका छन् ।

सिल्टुको जन्मदर्ता ०७४ भदौ ७ मा गरिएको देखाइएको छ । उनको नागरिकतामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर रामले प्रमाणित गरेका छन् । ‘जन्मदर्ता, वडाको सिफारिस र प्रहरी सर्जमिन ल्याएपछि नागरिकता दिनैपर्‍यो,’ रामले भने । जन्मदर्ताको प्रमाणपत्र ल्याएपछि आफूले सिफारिस गरेको वडाध्यक्ष यादवको भनाइ छ । वडाध्यक्ष र स्थानीयले सैकतकै छोरा भनेपछि आफूले सोहीअनुसार सर्जमिन मुचुल्का गरेको प्रहरी नायब निरीक्षक प्रदीपशंकर प्रसादले बताए ।

सिल्टु भारतीय भएको थाहा पाएपछि वडाध्यक्ष यादवले पुस ७ गते जिल्ला प्रशासन कार्यालयलाई पक्राउ गरी कारबाही गर्न पत्राचार गरेका थिए । त्यसको भोलिपल्टै जिल्ला प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी सिल्टु र सैकतलाई पक्राउ गरी पेस गर्न भनेको हो । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: ११ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्