कैदीबन्दीलाई जेलभित्रै जागिर!


 


काठमाडौं, पुष १५
कैदीबन्दीले जेलभित्रै जागिर खान पाउने भएका छन् । जेलभित्रै कारखाना खोलेर कैदीबन्दीलाई जागिर दिन सकिने कानुन सरकारले संसदमा दर्ता गरेको छ । कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कैदीहरूले जेलभित्रै जागिर खान पाउने उल्लेख छ । यसबापत उनीहरूले पारिश्रमिकका साथै कैद सजायमा समेत छुट पाउनेछन् । विधेयकअनुसार जागिर खानेले एक महिनामा पाँच दिनबराबर कैद सजाय छुट पाउनेछन् ।

उनीहरूले कारागार परिसरभित्र स्थापना गरिएका कारखानामा मात्र जागिर पाउनेछन् । यद्यपि उनीहरूलाई पछि विकास निर्माणको काममा पनि लगाउने कारागार व्यवस्थापन विभागका अधिकारीहरूको भनाइ छ । नियमावलीमार्फत असल चालचलन भएका कैदीलाई विकास तथा सामाजिक काममा खटाउने विभागको तयारी छ ।

धेरै देशमा कैदीलाई सजायस्वरूप विकासका काममा लगाइने गरिएको छ । नेपालमा भने उनीहरूलाई सुधारका लागि भनेर यस्तो कार्यक्रम ल्याइएको छ । खासगरी खुला कारागारको अवधारणाा लागू गरेर उनीहरूलाई जागिरको अवसर दिन लागिएको विभागले जनाएको छ । अहिले पनि स्कुल भएका कारागारमा पढाउनेहरूले तलब पाउने गरेका छन् । सीपमूलक तथा आयमूलक कार्यक्रम भने पहिलेदेखि नै सञ्चालन हुँदै आएको छ ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन ।

प्रकाशित मिति: १५ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्