तलब नपाएपछि नगरपालिकामा तालाबन्दी


 



रौतहट, पुस २४
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा शिक्षक तथा कर्मचारीहरुले साउन महिनादेखिको तलब नपाएको भन्दै अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

नगरपालिकामा कार्यरत शिक्षक, स्वास्थ्यका र अन्य कर्मचारीहरुले बुधबार नगरपालिकाको ढोकामा ताला लगाइदिएका हुन्। तलबको माग राख्दै गत असोज ६ गतेदेखि शान्तिपूर्ण रुपमा आन्दोलन गदै आएपनि नगरपालिकाले वेवास्ता गरेपछि तालाबन्दीमा उत्रिनुपरेको बिजयपुर माविका प्रधानाध्यापक सुदामा यादवले बताए।

उनले तलब नपाएसम्म आन्दोलन जारी हुने उनले बताए । नगरपालिकामा १ सय ९३ जना शिक्षकसहित २ सय ८० भन्दा बढी कर्मचारी कार्यत छन्। जनप्रतिनिधिहरुको विवादले कर्मचारीलार्इ मार परेकोले जतिसक्दो चाँडो तलब उपलब्ध गराउन कर्मचारीहरुको माग छ।

असारमै गरिसक्नुपर्ने नगर सभा समयमा नगरिदिदा कर्मचारीहरुले तलब खान नपाएको बताइएको छ । गत पुस ११ गते नगरप्रमुख गोपाल रायले नगर सभा गरेको भएपनि उपप्रमुख कान्ती देबीले विरोध गदै आएकी छिन्।

प्रकाशित मिति: २४ पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्