काठमाडौँमा १० करोडको तरुल


 


काठमाडौँ, माघ १
आज माघे सङ्क्रान्ति अत्यधिक तरुल खपत हुने दिन । यसका लागि काठमाडौँका बजारमा सिमल तरुल, हात्तीपाइले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुल भित्रिएको छ ।

देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल किनबेच गर्नेको भीड लागेको छ । माघे सङ्क्रान्तिकै अवसर पारेर अत्यधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यावसायिक खेती पनि सुरु भइसकेको छ ।

यो वर्ष माघेसङ्क्रान्तिका लागि काठमाडौँ उपत्यकामा भित्रिएको तरुल गत वर्षको तुलनामा महँगिएको छ । उपत्यकाको बजारमा मागभन्दा कम तरुल भित्रिएपछि भाउ महँगिएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका वरिष्ठ योजना अधिकृत विनय श्रेष्ठले यो वर्ष तरुलको आयात बढेसँगै माग पनि बढेकाले बजारमा यसको मूल्य पनि बढेको जानकारी दिए ।

उनका अनुसार गत वर्ष माघेसङ्क्रान्तिका लागि एक हजार टन तरुल भित्रिएकोमा यसपटक भने झन्डै एक हजार ५०० टनको हारहारीमा तरुल भित्रिएको छ । समितिका अनुसार माघेसङ्क्रान्तिका लागि काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै सर्लाहीबाट तरुल भित्रिएको छ भने नवलपरासी, धादिङ, नुवाकोट, काभ्रे लगायतका जिल्लाबाट पनि तरुल आयात भएको छ ।

नेपालमा माघेसङ्क्रान्तिको आसपासमा बर्सेनि झन्डै १० करोड रुपियाँको तरुलको कारोबार हुने गरेको व्यवसायीले बताएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन।

प्रकाशित मिति: १ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्