सरकारकै निगरानीमा फेरि ठगिए उखु किसान


 


काठमाडौं, माघ ८
चिनी मिलले सम्झौता पालना गरेका भए मंगलबार (७ माघ) भित्र उखु किसानले पुरानो बाँकी सबै भुक्तानी पाउनुपथ्र्यो । सरकारले दिलाएको विश्वासपछि त्यही आसमा उनीहरू आन्दोलन त्यागेर पुस १८ मा जिल्ला फर्किएका थिए। तर, गरिब किसान फेरि जिल्याइए ।

आठ चिनी उद्योगले किसानलाई १ अर्ब २ करोड रुपैयाँ दिन बाँकी छ। आफैंले तोकेको म्यादमा जम्मा ३ उद्योगले १६ करोड १४ लाख रुपैयाँ मात्रै उपलब्ध गराएको उद्योग विभागले जनाएको छ।

‘हामीले जति प्रयास गरे पनि उद्योगीहरू अटेर गरी सम्पर्कमै आउन मानेनन्’, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, ‘चिनी उद्योगबाट अझै १ अर्बभन्दा बढी रकम भुक्तान हुन बाँकी छ।’

अटेरी उद्योगीविरुद्ध कस्तो कारबाही गर्ने भनेर मन्त्रालय छलफलमा जुटेको छ। यसै साता मन्त्रालयका तर्फबाट कठोर नीति अवलम्बन गर्ने संकेत स्रोतले गरेको छ।

उद्योगमन्त्री लेखराज भट्टको रोहवरमा उखु किसान संघर्ष समिति र मन्त्रालयका तर्फबाट सहसचिव दिनेश भट्टराईबीच उक्त सम्झौता भएको थियो। मन्त्रालयले उद्योगीबाट १८ दिनभित्र सम्पूर्ण बक्यौता रकम किसानलाई उपलब्ध गराउने वाचा गरेको थियो।

विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाका अनुसार महालक्ष्मी सुगर मिलले २१ करोड ४० लाखमध्ये ११ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। सो मिलले ९ करोड ९० लाख बक्यौता तिर्न बाँकी छ। ‘भुक्तानी गर्नुपर्ने समयसीमा तोकिए पनि मंगलबार भने कुनै उद्योगी सम्पर्कमा आएनन्’, उनले भने।

अन्नपूर्ण सुगर मिलले ४२ करोड रुपैयाँमध्ये ३ करोड ९० लाख किसानलाई भुक्तानी गरेको जानकारी विभागमा आएको छ। उसले अब ३८ करोड १० लाख तिर्न बाँकी छ।

श्रीराम सुगर मिलले पुरानो सबै गरी २६ करोड ७७ लाख ७८ हजार भुक्तानी गर्न बाँकी छ। इन्दिरा सुगर मिलले ७४ लाख रुपैयाँ भुक्तानी गरेको र १० करोड ४८ लाख चुक्ता गर्न बाँकी छ।

श्रीराम सुगरले म्यादभित्र एक पैसा पनि भुक्तान नगरेको महानिर्देशक सिटौलाले बताए। बागमती खाँडसारी सुगर उद्योगले ८ करोड ५० लाख, महाकालीले ६२ हजार, लुम्बिनीले ८ करोड, बाबा वैजनाथले २५ लाख ५६ हजार र इन्दिरा सुगर मिलले १० करोड ४८ लाख रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ।आजको अन्नपूर्ण पोष्टबाट

प्रकाशित मिति: ८ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्