निम्तो बाँडिन, बिहे हुन पाएन


 


कञ्चनपुर, माघ १०
पाँच दिनपछि उनको विवाह हुँदै थियो । घरमा सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो । आफ्नो बिहेको निम्तो साथीहरूलाई दिन रमिता भट्ट कञ्चनपुर महेन्द्रनगरको जनज्योति टोल गएकी थिइन् ।

रमिताले साथीहरूलाई निम्तो त बाँडिन्, तर बिहे हुन पाएन । निम्तो बाँडेर महेन्द्रनगर बजारतर्फ फर्किरहेकी उनको बिहीबार साँझ टिपरको ठक्करबाट मृत्यु भयो । बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला घर भएकी रमिता महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन् । उनी डेढ वर्षअघि गुरुखोलाकै प्रकाशबहादुर टेरसँग ‘भागेर’ आएकी थिइन् ।

टेरसँगै बसिरहेकी उनलाई अन्तरजातीय (बाहुन–क्षत्री) सम्बन्ध भएकाले माइती पक्षले स्वीकार गरेको थिएन । अहिले माइती पक्ष राजी भएपछि रमिता र प्रकाशको औपचारिक विवाह हुन लागेको थियो । ‘माघ १३ मा विवाहको तयारी थियो, हामीहरू सरसामान जुटाउनेदेखि निम्तो बाँड्ने काममा जुटेका थियौं,’ रमिताका ससुरा हरिसिंह टेरले फोनमा भने, ‘खबर सुनेपछि सबै भताभुंग भयो, कामधाम सबै छाडेर हामी महेन्द्रनगर आउँदै छौं ।’

उनी छोरा प्रकाश र परिवारका अन्य सदस्यसहित महेन्द्रनगर आइरहेका छन् । उनीहरू एक साताअघिसम्म महेन्द्रनगरमै थिए । बिहेकै तयारीका लागि बैतडी गएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा भवानी भट्टले लेखेकी छिन।

प्रकाशित मिति: १० माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्