अग्नि सापकोटाः चक र डस्टरदेखि सभामुखसम्मको यात्रा


 


काठमाडौं, माघ १२

आजको प्रतिनिधिसभा बैठकले अग्निप्रसाद सापकोटालाई सभामुखको पदमा निर्विरोध निर्वाचित गरेको छ ।

नयाँ सभामुख सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित सापकोटा लामो समय शिक्षण पेशामा रमाएका शिक्षक हुन् ।
सिन्धुपाल्चोक जिल्लाको कुभिन्डेमा २०१६ फागुन २४ गते धनपति र तीलमाया सापकोटाको कोखबाट जन्मेका थिए । पूर्व शिक्षक सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवम् संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिका संयोजक समेत रहेका सापकोटा तत्कालीन नेकपा माओवादी केन्द्रका प्रवक्ता समेत रहेका थिए ।
प्रचण्डका नजिकका नेता मानिने सापकोटालाई पार्टीको प्रभावशाली नेताको रुपमा पनि हेर्ने गरिन्छ ।

२०३० सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका सापकोटा २०५१ सालमा पार्टीको केन्द्रीय सदस्य बनेका थिए। माओवादी सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोलीका सदस्य सापकोटाले १५ वर्ष सम्म शिक्षण पेशा अपनाएका थिए।

सिन्धुपाल्चोक जिल्लाको जनजागृति माविका पूर्व प्रधानाध्यापक सापकोटाले शिक्षण पेशा छोडेर पूर्णकालीन राजनीतिक कार्यकर्ता बनेका थिए। २०४८ सालमा संयुक्त जनमोर्चा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए पनि त्यतिबेला उनी पराजित भए। सापकोटाकी श्रीमती तारादेवी पनि माओवादीको क्षेत्रीय सदस्य हुन्।
संघीय संसद्को नेतृत्व गरिरहँदा सापकोटाका अघि समन्वयकारी भूमिका गरेर संसद्लाई साझा थलो बनाउने चुनौती छ ।

प्रकाशित मिति: १२ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्