दुई पूर्वडिएसपीसहित सात प्रहरीविरुद्ध मुद्दा दायर


 


काठमाडौँ, फागुन १४
हुँदै नभएका प्रहरीलाई समेत तलब दिएर प्रहरीमा अनियमितता भएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वडिएसपीसहित सात प्रहरीविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ । साथै उनीहरूको अनियमितता लुकाउन सहयोग गर्ने लेखापरीक्षणमा आबद्ध पाँच कर्मचारीलाई पनि मुद्दा चलेको छ ।

तलब, रासन भत्ता तथा अन्य भत्ता अनियमितता गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रहरी नायब उपरीक्षक त्रिलोकबहादुर चन्द र कृष्णबहादुर कुँवरसहित १० जनाविरुद्ध मुद्दा दायर भएको हो । दुई पूर्वडिएसपी तथा लेखापात्र माधव चन्द ठकुरीलाई थुनामै राखेर आयोगले मुद्दा चलाएको हो ।

पूर्वडिएसपी चन्द तथा कुँवरविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर भएको छ । चन्दसहित तत्कालीन लेखापाल सइ माधव चन्द ठकुरी, लेखाशाखामा कार्यरत लेखा सहायकहरू हवल्दार टंकबहादुर मल्ल र प्रहरी जवान सर्वराज खत्रीसमेतको मिलेमतो रहेको भन्दै आयोगले मुद्दा दायर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्ला र अन्तर्गतका प्रहरी कर्मचारीको ०७२ असोजदेखि ०७३ असारसम्म तलब, स्थानीय भत्ता तथा रासनसमेतको भर्पाईमा जोडजम्मामा फरक पारी ३० लाख ९० हजार पाँच सय ८ रुपैयाँ ५० पैसा हिनामिना गरेको आयोगले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति: १४ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्